वाशीगंटन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानले प्रशोधन गरेको युरेनियम अमेरिका ल्याउने बताएका छन्। उनले अमेरिका र इरान मिलेर परमाणु केन्द्रहरूमा खन्ने काम संयुक्त रुपमा गर्ने र त्यहाँ रहेको प्रसोधित (इनरिच्ड) युरेनियम निकालेर अमेरिका ल्याइने बताए।

ट्रम्पका अनुसार बमबारीबाट प्रभावित परमाणु केन्द्रहरूमा दुवै देशका टोलीहरू सँगै पुग्नेछन् र ठूला मेसिनहरूको प्रयोग गरेर खनेर युरेनियम बाहिर निकालिने छ। उनले इरान वार्ताका लागि तयार रहेको पनि बताएका छन् र सप्ताहन्तमा बैठक हुन सक्ने संकेत दिएका छन्। उनका अनुसार एक–दुई दिनभित्रै शान्ति सम्झौता हुन सक्ने सम्भावना छ।

तर इरानले भने यस दाबीलाई अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले स्पष्ट पारेका छन्, ‘इरानको संवर्द्धित युरेनियम कुनै पनि अवस्थामा कतै पनि सारिने छैन।’

इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले एक घण्टाभित्र डोनाल्ड ट्रम्पले ‘सात वटा दाबी गरेका, तर सबै गलत रहेको’ बताए। साथै उनले होर्मुजमा अमेरिकी नाकाबन्दी जारी रहँदासम्म यो मार्ग खुला नरहने समेत बताए।