अहमदाबाद ।  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति अहमदाबादमा सम्पन्न खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्स (केकेआर) माथि रोमान्चक जित निकालेको छ।

कप्तान शुभमन गिलको विष्फोटक इनिङको मद्दतले गुजरातले कोलकातालाई ५ विकेटले स्तब्ध पारेको हो। १८१ रनको लक्ष्य पछ्याएको गुजरातले २ बल बाँकी छँदै १९.४ ओभरमा ५ विकेट गुमाएर जित सुनिश्चित गर्‍यो।

गुजरातको जितमा नायक बनेका शुभमन गिलले ५० बलमा ८६ रनको उत्कृष्ट इनिङ खेले। उनको यही योगदानका कारण उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। अन्तिम ओभरसम्मै निकै रोमाञ्चक बनेको यस खेलमा गुजरातले संयमित ब्याटिङ गर्दै महत्वपूर्ण दुई अंक जोड्न सफल भयो।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा १८० रनको सम्मानजनक स्कोर खडा गरेको थियो। कोलकाताका बलरहरूले उक्त मध्यम योगफल रक्षा गर्न कसिलो बलिङ गरे पनि गिलको विष्फोटक ब्याटिङसामु उनीहरूको प्रयास सफल हुन सकेन।

यो जितसँगै गुजरात टाइटन्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। अर्कोतर्फ, हार व्यहोरेको कोलकाता नाइट राइडर्स भने अंक तालिकाको पुछारमा खुम्चिएको छ।