काठमाडौं  ।  चिकित्सकहरूले अनलाइन परामर्शको नाममा विभिन्न रोग तथा बिरामीसँग सम्बन्धित सामग्रीहरू/प्रसारण–प्रकाशन गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले आपत्ति जनाएको छ ।

सामाजिक सञ्जालमा चिकित्सकहरूले भिडियो सामग्री सार्वजनिक गर्ने, विभिन्न रोगहरूको उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी भिडियो सामग्रीहरू व्यापक रूपमा प्रसारण गर्ने गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले ध्यानाकर्षणसमेत गराएको हो ।
विनापरीक्षण सामाजिक सञ्जालबाट परामर्श दिँदा बिरामी भ्रममा पर्ने र आत्तिने अवस्थासमेत हुने भएकाले यसो नगर्न काउन्सिलले चिकित्सकहरूलाई अनुरोध गरेको छ ।

‘विभिन्न सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत ‘अनलाइन परामर्श’को नाममा चिकित्सकहरूले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गर्ने, विभिन्न रोगहरूको उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी भिडियो सामग्रीहरू व्यापक रूपमा प्रसारण गर्नेजस्ता कार्यहरू भइरहेकोप्रति नेपाल मेडिकल काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ,’ काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण, आवश्यक जाँच तथा काउन्सिलमा दर्ता रहेका चिकित्सकको प्रत्यक्ष मूल्यांकनविना औषधि सेवन गर्न सुझाव दिनु वा त्यस्तो सल्लाह प्रचार गर्नुले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने, अनावश्यक जटिलता बढ्न सक्ने तथा दीर्घकालीन हानिसमेत पुग्न सक्ने तथ्य सर्वविदितै छ ।’

काउन्सिलले यसप्रकारका गैरजिम्मेवार तथा अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्नुका साथै गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने देखिएको जनाएको छ ।

चिकित्सकहरूलाई यी नियम पालना गर्न अनुरोध
– बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्न, गर्नैपर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान नखुलाउने ।
– सामाजिक सञ्जालमार्फत परीक्षणविना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्ने ।
– स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेसागत आचारसंहिताको पूर्ण पालना गर्ने ।
– बिरामीहरूले सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँग मात्र परामर्श लिने ।