काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिब दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा जुटेको छ ।

वैशाख ७ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति बनाएको थियो । समितिले ‘क्यान्डिडेट क्लब’ मार्फत वैशाख २० गते उम्मेदवार आह्वान गर्ने तयारी गरेको छ ।

गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो । निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । अभूतपूर्व जितसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार बनेको छ । चुनावमा आम मतदातासमक्ष व्यक्त गरेको बाचा बमोजिम बालेन सरकार अगाडि बढिरहेको बेला पार्टीले स्थानीय तहको निर्वाचन सम्बन्धी तयारीलाई तीव्र तुल्याउन थालेको हो । त्यसका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण गरी ‘क्यान्डिडेट क्लब’ मार्फत वैशाख २० गते उम्मेदवार आह्वान गर्ने जिम्मेवारी सहमहामन्त्री आचार्यले पाएका छन् ।

यसअघि २०७९ सालको निर्वाचन, २०८२ कात्तिकमा हुने भनिएको उपनिर्वाचन र जेनजी आन्दोलनपछि फागुनमा भएको निर्वाचनमा उम्मेदवार छनोट मापदण्ड पनि आचार्यले नै बनाएका थिए । सात सदस्यीय समितिमा समीक्षा बास्कोटा, केपी खनाल, रामकृष्ण भट्टराई, कामिनी कुमारी चौधरी, रोहन कार्की र आरके ढुंगाना सदस्य छन् । समितिको सचिवको जिम्मेवारी ढुंगानाले पाएका छन् ।

संयोजक आचार्यका अनुसार उम्मेदवार छनोट मापदण्ड कस्तो बनाउने भन्ने विषयमा पार्टीका हरेक संयन्त्रसँग परामर्श लिने काम भइरहेको छ ।

‘उम्मेदवार छनोट प्रारुप कस्तो बनाउने भन्ने विषयमा पार्टीको हरेक संयन्त्रसँग समितिले राय, सुझाव र अनुभव मागेको छ । यसै क्रममा सातै प्रदेशका सभापतिसँग छलफल गरेको छ’, रातोपाटीसँग आचार्यले भने, ‘प्रदेश सभापतिमार्फत प्रदेश, जिल्ला, पालिका र वडासम्म अलग, अलग सुझाव सङ्कलन गरेर पठाउनका लागि १८ गतेसम्मको समय दिएको छ ।’

पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग, पार्टीका सबै विभाग, केन्द्रीय समिति, संसदीय दल र पार्टीको सल्लाहकार परिषद्सँग छलफल गरेर सुझाव लिइएको पनि उनले जानकारी दिए ।

बिहीबार (आज) पार्टीको संघीय नेतृत्व मञ्च र केन्द्रीय लेखा आयोगसँग पनि छलफल गर्ने कार्यतालिका रहेको आचार्यले जानकारी दिए । त्यसैगरी सामाजिक सञ्जालमार्फत सर्वसाधारण र शुभेच्छुसँग सुझाव लिने कार्यतालिका छ । सबै तह तप्काबाट प्राप्त भएका सुझावलाई समेट्दै अघिल्लो संघीय उम्मेदवार छनोट प्रक्रियालाई आधार मानेर समितिले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको अन्तिम रुपरेखा सचिवालयमा प्रस्तुत गर्ने आचार्यले बताए ।

उनले अहिले स्थानीय तह निर्वाचनको मात्र जिम्मेवारी पार्टीले दिएकाले प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियामा कुनै निर्णय नभएको स्पष्ट पारे । स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिँदैछ । स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले योग्य, सक्षम, अनुभवी र लोकप्रिय उम्मेदवार छनोट गर्ने गरी प्रारुप तयार गर्न उम्मेदवार क्लब बनाउन लागिएको आचार्यले जानकारी दिए ।

उनका अनुसार उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक पार्टी सदस्यहरूले उम्मेदवार क्लबमा सहभागी हुनुपर्नेछ । उम्मेदवार क्लबका लागि आवेदन, योग्यता परीक्षण, अभिलेखीकरण आदि व्यवस्था उम्मेदवार छनोट प्रक्रिया र विधान बमोजिम हुनेछ । उम्मेदवार क्लबमा आवेदन दिन अनलाइन र अफलाइन दुवै माध्यम उपलब्ध हुनेछ, तर यसपालिको निर्वाचनमा पार्टीले बाचा पत्रमा उल्लेख गरेबमोजिम गैरदलीय उम्मेदवार छनोट नहुने आचार्यले प्रस्ट पारे ।

‘बाचापत्रमा गैरदलीय विषयमा छलफल चलाउने भन्ने छ । समितिले अहिलेकै संविधानको परिधिमा रहेर काम गर्छ’, उनले भने ।

आचार्यले २०७९ र २०८२ को निर्वाचनमा अपनाएको मापदण्डको आधारमा थप संशोधन गरेर उम्मेदवार रुपरेखा तयार गर्ने बताए । फागुन २१ मा भएको निर्वाचन विशेष परिस्थितिमा भएकाले पार्टीको विधि र विधान कार्यान्वयन नभए पनि स्थानीय तहमा शतप्रतिशत लागु हुने विश्वासका साथ काम गरिरहेको उनले जिकिर गरे ।

‘हामीले यो प्रक्रिया २०७९ को निर्वाचनबाटै प्रयोग गरेको हो । त्यतिबेला प्रारम्भिक निर्वाचनमात्र भयो । उपनिर्वाचनमा यो विधि प्रयोग भयो । त्यसलाई थप संशोधन गरेर फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ फरक फरक विधि बन्यो’, उनले भने, ‘समानुपातिकतर्फ यो विधिलाई अबलम्बन्न गरियो, तर अन्तिममा प्रभावित भयो । प्रत्यक्षतर्फ विधि नै प्रयोग भएन । २०८२ को परिस्थिति नै विशेष थियो । आगामी दिनमा विधि नै प्रयोग नहुने भन्ने हुँदैन । योपटक शतप्रतिशत लागु हुन्छ भन्ने विश्वासमा आधारित भएर विधि बनाइएको छ ।’

रास्वपा विधिलाई नै सर्वोपरि मान्ने पार्टी भएकाले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटमा विधि लागु हुने उनको जिकिर छ । यद्यपि प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचनभन्दा स्थानीय तहको निर्वाचन प्रक्रिया फरक भएकाले उम्मेदवार छनोट मापदण्ड संशोधन हुने उनले बताए ।

स्थानीय तहमा ७५३ पालिका, ६ हजार ७४३ वडा छन् । एक हजार ५०६ पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, त्यतिनै संख्यामा दलित महिला सदस्य र १३ हजार ४८६ खुला सदस्य गरी ३५ हजार २२१ जनाको निर्वाचन हुनेछ ।

उम्मेदवार छनोट प्रक्रिया जटिल रहे पनि अघिल्लो पटक प्रयोगमा आएको उम्मेदवार छनोट मापदण्ड लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशीता र प्रारम्भिक निर्वाचन प्रणाली संशोधन सहित लागु हुने संयोजक आचार्यले स्पष्ट पारे ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४९ सालमा पहिलोपटक स्थानीय निकायको निर्वाचन भएको थियो । २०५४ सालमा दोस्रोपटक निर्वाचन भयो । यी दुवै निर्वाचनमा कांग्रेस, एमाले प्रमुख शक्तिमा स्थापित भएका थिए । यी बाहेक राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेपाल सदभावना पार्टी लगायत दलहरूको पनि राम्रो उपस्थिति थियो । तर त्यतिबेला माओवादी सशस्त्र विद्रोहका कारण स्थानीय तह निर्वाचन प्रभावित भयो ।

२०६५ सालमा परम्परागत राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बन्यो । २०७३ सालमा राज्य पुर्नसंरचना आयोगले तीन तहको सरकार बनाउने गरी प्रतिवेदन बुझाएपछि २०७४ सालमा पहिलोपटक स्थानीय तहको निर्वाचन भयो ।

संवैधानिक राजतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात सम्पन्न दुई वटा स्थानीय तह निर्वाचनमा निर्वाचित भएका कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, मधेसी दलहरू गएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढारिएका छन् ।

२०८४ मा हुने स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य निर्वाचित गर्न महत्त्वपूर्ण हुने भएकाले पनि सबैको चासो देखिएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रदेश सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहने छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका पालिका प्रमुख/उपप्रमुख र प्रदेश सभा सदस्य उम्मेदवार रहनेछन् । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार प्रतिनिधि सभाको ७९, प्रदेश सभाको ५३ र स्थानीय तहको १९ अंकभार छ । आगामी निर्वाचनपछि शासकीय शक्ति सन्तुलन फेरबदल हुन सक्ने राजनीतिक वृत्तमा चर्चा छ ।