कोलकाता । पश्चिम बंगालमा बुधबार दोस्रो तथा अन्तिम चरणको मतदान सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा पनि ९१ दशमलव ६६ प्रतिशत मतदान भएको छ । पहिलो चरणमा भने ९३ दशमलव १९ प्रतिशत मतदान भएको थियो । दुवै चरणमा गरी पश्चिम बंगालको विधानसभा चुनाव २०२६ मा ९२ दशमलव ४७ प्रतिशत मतदान भएको हो ।

यहाँबाहेक असम, केरल र पुडुचेरीमा एकै चरणमा ९ अप्रिलमा मतदान भएको थियो भने तमिलनाडुमा पनि एकै चरणमा २३ अप्रिलमा मतदान भएको थियो ।

यसपटक पश्चिम बंगालमा तृणमूल कंग्रेस र भारतीय जनता पार्टीबीच कडा टक्कर हुने विश्लेषणहरु भइरहेका छन् । यता दुवै दलले भने आ–आफ्नो बहुमत आउने दाबी गरेका छन् ।

यसैबीच यहाँको चुनावलाई लिएर भएको एक्जिट पोल पनि सार्वजनिक भइसकेको छ । यद्यपि अघिल्लो पटकको विधानसभा चुनावमा एक्जिट पोल गलत भएका थिए ।

यस्तो छ, एग्जिट पोल

पश्चिम बंगाल विधानसभामा २९४ सिट छन् । त्यसमा बहुमतका लागि १४८ सिट आवश्यक पर्छ । पाँचवटा एग्जिट पोलमध्ये चाणक्यले टीएमसीले १३० देखि १४० सम्म सिट जित्नसक्ने दाबी गरेको छ । यस्तै भाजपाले १५० देखि १६०, कांग्रेस शून्य र अन्य दलहरुको ६ देखि १० सिट आउने बताएको छ ।

यस्तै पीपल्स पल्सले भने ममता बनर्जीको पार्टी टीएमसीले बहुमत पार गर्ने देखाएको छ । उसका अनुसार टीएमसीले १७७ देखि १७८ सिटमा जित हात पार्नेछ भने भाजना ९५ देखि ११० सम्म पुग्नेछ । यस्तै कांग्रेस १ देखि ३ सिटसम्म रहँदा अन्य दलहरुको १ सिटसम्म आउने दाबी पल्सको छ ।

म्याटराइज पोलले भाजपाले बहुमत ल्याउने दाबी गरेको छ । उसका अनुसार भाजपाले १४६ देखि १६१ सम्म सिट ल्याउने र टीएमसी १२५ देखि १४० सिटमा समेटिनेछ । कांग्रेस शून्यमा सीमित हुने र अन्य दलहरुको ६ देखि १० सिटसम्म आउने दाबी म्याटराइजको छ ।

यस्तै अर्को पोल पी–मार्कले टीएमसीलाई ११८ देखि १३८ सिटमा सिमित राखेको छ भने भाजपालाई १५० देखि १७५ सिट दिएको छ । मार्कले पनि कांग्रेसको शून्य सिट हुने र अन्यको २ देखि ६ सिट आउने तथ्यांक प्रस्तुत गरेको छ ।

यसैगरी जेवीसीले टीएमसीलाई १३१ देखि १५२ सिट दिएको छ भने भाजपालाई १३८ देखि १५९ सिट दिएको छ । कांग्रेस शून्यदेखि २ सिटसम्म आउने दाबी गरेको छ । २९४ सिटको बंगाल विधानसभामा बहुमतका लागि १४८ सिट आवश्यक पर्छ ।

मतदानपछि सञ्चारमाध्यमहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री ममता बनर्जीले टीएमसीले फेरि सरकार बनाउने भन्दै दुई तिहाई सिट हासिल गर्ने दाबी गरेकी छिन् । तर एक्जिट पोलहरुका अनुसार यसपटक भाजपाको प्रवेश अपत्यारिलो हुने देखिन्छ ।

एग्जिट पोल सार्वजनिक भइसकेपछि समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै भाजपाका नेता प्रेम शुक्लाले मतपरिणाम एग्जिट पोलभन्दा पनि राम्रो हुने दाबी गरे । यद्यपि एग्जिट पोल एक अनुमान मात्र हो । सन् २०२१ को चुनावमा पश्चिम बंगालमा एग्जिट पोल गलत सावित भएका थिए । दुई तिहाई सिटसिहत बनर्जीले सरकार बनाएकी थिइन् ।

तर यसपटक भने प्रतिस्पर्धा हुने देखिन्छ । एग्जिट पोललाई आधार नमान्ने हो भने पनि ग्राउन्ड लेभलमा देखिएका दृश्यहरुले ममताको पार्टीलाई अघिल्लो चुनावभन्दा सहज भने देखिँदैन ।