काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले सामाजिक सन्जालमा पोष्ट गरेको एक नक्सामा भारतमा पर्ने जम्मुकश्मिर क्षेत्रलाई पाकिस्तानमा देखाएपछि आलोचना भएको छ ।

निगमले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेको छ । र, उक्त नक्सा सामाजिक सन्जालबाट हटाइएको जानकारी दिएको छ ।

‘हाम्रा सामाजिक सन्जालमार्फत् हालै साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमायाचना गर्दछौं,’ नेपाल एयरलाइन्सले भनेको छ, ‘उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्सांकन त्रुटिहरु थिए ।’ सो नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित नगर्ने पनि स्पष्ट पारिएको छ ।

सो नक्सा हटाइसकेको र त्रुटिबारे आन्तरिक समीक्षा गरिरहेको एयरलाइन्सले जनाएको छ ।

‘हामीले उक्त पोस्ट हटाइसकेका छौं र हाम्रा सामग्रीहरुले उच्चतम शुद्धताको मापदण्ड पूरा गर्ने सुनिश्चित गर्न आन्तरिक समीक्षा गरिरहेका छौं,’ नेपाल एयरलाइन्सले सोसल मिडिया मार्फत् भनेको छ, ‘हामी छिमेकी र मित्रहरुसँगको हाम्रो सदृढ सम्बन्धलाई अत्यन्त महत्व दिन्छौं र उक्त पोस्टबाट कुनै पनि प्रकारको असहजता वा आपत्ति भए त्यसप्रति दु:ख व्यक्त गर्दछौं ।’

नेपाल एयरलाइन्सले पोष्ट गरेको नक्साको भारतमा विरोध भएको थियो । भारतीय नागरिकहरुले सोसल मिडिया प्लेटफर्ममा नेपाल एयरलाइन्स र जम्मुकश्मिरसँग सम्बन्धित ह्यासट्याग राख्दै तीखा प्रतिक्रिया दिएका थिए । कतिपयले नेपाल एयरलाइन्सलाई भारत विरोधी भनेर पनि आलोचना गरेका थिए ।

भोजपुरी सिनेमाका सुपरस्टार भनिने खेसारी लाल यादवले पनि यसप्रति कडा प्रतिक्रिया सार्वजनिक गरेका थिए । उनले एक्समा लेखेका छन्, ‘के सोचेर नेपाल एयरलाइन्सले भारतको नक्सामा यस्तो छेडछाड गरेको हो, त्यो पनि जम्मुकश्मिरलाई लिएर ? यो सामान्य कुरा होइन ।’