जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको उपस्थितिमा जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालन सहितका विषयमा छलफल भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाको सक्रियतामा मुख्यमन्त्री निवासमा आज बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेतको सहभागितामा क्षेत्रीय हवाई कनेक्टिभिटी र व्यावसायिक कृषि विस्तारका विषयमा महत्वपूर्ण छलफल भएको हो ।
धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थलको रुपमा रहेको रामायण सर्किट अन्तर्गत पर्ने यी दुई धार्मिक शहरबीच प्रत्यक्ष हवाई सेवा सञ्चालन हुन सकेको खण्डमा नेपाल–भारत धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।
जनकपुरधामस्थित जानकी मन्दिर र भारतको अयोध्यामा रहेको राम मन्दिरलाई हवाई मार्गवाट जोड्का लागि हवाई सेवा सञ्चालन भएपछि वार्षिक रूपमा हजारौं श्रद्धालुहरू ओहोर दोहोर गर्नमा सहजता हुने र यसले दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिईएकाले हवाई सेवा सञ्चालनमा जोड दिईएको छ ।
हवाई सेवाको सञ्चालन भएपछि जनकपुधामको मात्र होईन नेपालकै अर्थतन्त्र विकासमा ठूलो टेवा पुग्ने भएकाले यो प्रयास विगत देखि नै हुँदै आएपनि हालसम्म सफल हुन सकेको छैन । बुद्ध एयरका सञ्चालक बस्नेतले सम्भावित हवाई सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यावसायिक र नीतिगत पक्षहरूको अध्ययन गर्न सकिने संकेत छलफलमा दिनु भएको छ ।
छलफलमा कृषि क्षेत्रमा निजी लगानी विस्तार गर्ने विषय प्राथमिकतामा परेको छ । कोशी प्रदेशमा आरजु राइस मिलले हासिल गरेको सफलतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मधेश प्रदेशमा त्यस्तै प्रकारको आधुनिक कृषि उद्योग स्थापना गर्ने विषयमा जोड दिईएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभाका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेश प्रदेश कृषि उत्पादनका हिसाबले सम्भावनायुक्त प्रदेश भएपनि प्रशोधन उद्योगको अभावले किसानले उचित मूल्य पाउन नसकेको बताउनु भयो ।
जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालन र कृषि उद्यम विस्तारका विषयमा आगामी दिनमा थप ठोस निर्णय र कार्यान्वयनको प्रक्रिया अगाडि बढ्ने विश्वास गरिएको छ । वैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनकपुरधाममा हवाई सेवाको विस्तार तथा कृषि उद्योग स्थापनाका लागि प्रदेश सरकारले सवै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनु भयो ।