काठमाडौँ । गृहमन्त्री बनेको २६ दिनमै सुधन गुरुङले राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट नयाँ गृहमन्त्री को बन्ला भन्नेमा चासो बढेको छ ।

विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै गुरुङले बुधबार नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका थिए ।  प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहको मन्त्रिमण्डलमा उनी चैत १३ गृहमन्त्री बनेका थिए । स्रोतका अनुसार गुरुङले राजीनामा दिएपछि पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी गृहमन्त्री बन्ने बलियो सम्भावना रहेको छ ।

सभापति रवि लामिछाने निकट रहेका बुर्लाकोटी संस्थापक नेता हुन् । गृहमन्त्री सचिवालय सदस्य दीपक बोहरा र प्रवक्ता मनिष झाले पनि दाबी गरेको स्रोतले बतायो ।

‘सहमति भएको खण्डमा गृहमन्त्रीमा कवीन्द्रजीको सम्भावना बलियो छ । तर दीपक र मनिषले पनि दाबी गरेका छन् । यद्यपि सहमति नभएमा यी बाहेक अन्य पनि आउन सक्छन्’, स्रोतले भन्यो ।

बुर्लाकोटी गत निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए । उनी भर्खर मात्र संसदीय दलको मुख्य सचेतक बनेका थिए । २०७९ सालमा पार्टी स्थापना हुँदा बुर्लाकोटी केन्द्रीय सदस्य थिए । सह–महामन्त्री हुँदै महामन्त्री बनेका थिए। २०३६ सालमा धादिङको सल्यानटारमा जन्मेका थिए । पाँच वर्षको उमेरमा गोरखाको पालुङ्टार–९ मा बसाई सरेका थिए । फाइनान्समा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाको न्यू साउथवेल्स युनिभर्सिटीबाट ह्युमनराइट्स एन्ड बिजनेस कोर्स अध्ययन गरेका छन्।

पार्टीभित्र उनी शालीन नेताका रूपमा चिनिन्छन् । बुर्लाकोटी मंगलबार साँझ मात्र गृहमन्त्रालय पुगेका थिए । तर गृहमन्त्रीको विषयमा छलफल गर्न नगएको उनले प्रष्टीकरण दिइसकेका छन् ।

गृहमन्त्रीका सचिवालय सदस्य दीपक बोहराले पनि दाबी गरेको बुझिएको छ । न्यूज २४ देखि नै सभापति रविको विश्वासपात्र रहेका बोहराले कञ्चनपुर–२ बाट निर्वाचित भएका थिए ।

उपसभापति डीपी अर्याल सभामुख पदमा निर्वाचित भएपछि उनी पार्टीको प्रवास विभाग प्रमुख बनेका छन् । रवि गृहमन्त्री हुँदा बोहरा स्वकीय सचिव भएर काम गरेको अनुभव भएकाले पनि गृहमन्त्रीको दाबेदार रहेको बुझिएको छ । तर गृहमन्त्रीमा प्रवक्ता मनिष झाले पनि दाबी गरेपछि अप्ठ्यारो पारेको स्रोतको दाबी छ ।

‘अहिलेसम्म तीन जनाको दाबी देखिएको छ । गृहमा मनिषले पनि दाबी गरेकाले कुरा मिलिसकेको छैन । बेलुकासम्म केही टुङ्गो लाग्ला । तीन जनाले आ–आफ्ना दाबी छोडेनन् भने विकल्पमा अन्य पनि छन्’, स्रोतले भन्यो ।

पत्रकारिता पृष्ठभूमिबाट आएका झा अघिल्लो संसद्‌मा समानुपातिक सांसद थिए । गत निर्वाचनमा उनी धनुषा–३ बाट निर्वाचित भएका थिए ।

यी तीन जना बाहेक गृहमन्त्री बन्ने सम्भावना को छन् भन्ने विषयमा स्रोतले स्पष्ट पार्न चाहेन । गृहमन्त्री गुरुङ विवादमा तानिएपछि राजीनामा दिन चौतर्फी दबाब बढेको थियो ।

गुरुङको सेयर लगानीबारे पार्टी अनुशासन आयोगले पनि आन्तरिक रूपमा अनुसन्धान अगाडि बढाइरहेको छ । विवादमा तानिएपछि गुरुङले प्रधानमन्त्री बालेन, पार्टी सभापति रविसँग पटक–पटक छलफल गरेका थिए ।

गुरुङकै विषयमा प्रधानमन्त्री र सभापतिबिच सोमबार राति छलफल समेत भएको थियो । बुधबार बिहान प्रधानमन्त्रीसँग भेट गरेपछि गुरुङले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

पार्टीले पनि कारबाहीको लागि प्रधानमन्त्रीसँग सिफारिस गर्ने भन्दा पनि नैतिकताका आधारमा राजीनामा आहोस् भन्ने चाहना राखेको थियो।