जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
चितवनबाट पूर्व गाईघाटतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १०११ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प १२३७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरी गम्भीर घाइते भएका थिए । उहाँको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो ।
मोटरसाइकलमा पछाडि सवार महोत्तरीको जलेश्वर नगरपालिका–१, की २३ वर्षीया राघनी कुमारी महत्तो पनि गम्भीर घाइते भएकी छन् । उहाँको पनि टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
बस र त्यका चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१४, का ३७ वर्षीय युवराज राईलाई प्रहरी नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।
https://www.youtube.com/watch?v=nnB5hvEp3mY&t=145s