तेहरान  ।  इरानको राजधानी तेहरानजस्ता सहरमा दैनिक जनजीवन सामान्य अवस्थामा फर्किन लागेका संकेत देखिएका छन्।

यद्यपि सामाजिक सञ्जालमा इरानीहरूले विभिन्न खालका अनुभव सेयर गरिरहेका छन्।

जहाँ एकातिर जनजीवन सामान्य बनाउने प्रयासका कुरा छन् भने अर्कातिर मानसिक थकान, आर्थिक दबाब र इन्टरनेटमा असमान पहुँचका विषयमा बहस छन्।

यद्यपि ती अनुभवले केही मानिसका व्यक्तिगत जीवनका झलक मात्र दिन्छन्, समग्र इरानी समाजको प्रतिनिधित्व गर्दैनन्।

तर तिनले के देखाउँछन् भने गत हप्ता उठाइएका धेरै मुद्दा जस्तै: इन्टरनेट प्रतिबन्ध, आर्थिक दबाब र युद्धका चिन्ता अझै छन्।

साथै सामाजिक सञ्जालमा व्यक्त कुराले वर्तमान समस्या समाधानका विषयमा मतभेद पनि देखाउँछन्।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने अहिले दैनिक जीवनका साधारण कुराहरू जस्तै: कपडा किन्ने, क्याफे जानेजस्ता विषयमा लेख्नु वर्तमान अवस्थालाई नजरअन्दाज गर्नु हो भनेर आलोचना पनि गरिरहेका छन्।

दैनिक जीवनलाई निरन्तरता दिन संघर्ष

 

युद्धका बिच सामान्य जीवनयापन गर्ने संघर्षमा इरानवासी।युद्धका बिच सामान्य जीवनयापन गर्ने संघर्षमा इरानवासी।

 

यसविपरीत केही मानिस भने सामान्य रूपमा बाँच्न पाउनुपर्ने अधिकारको वकालत गरिरहेका छन्।

सामाजिक सञ्जालमा एक इरानीले लेखेका छन्, ‘हिजो रातीदेखि अहिलेसम्म कैयौँपटक रोएँ तर पनि म राम्रा लुगा लगाएर साथीहरूसँग घुम्न जान सक्छु।..’

अर्का व्यक्ति लेख्छन्, ‘हाम्रो दिमाग पनि कहिलेकाहीँ अर्को विषयमा लगाउनुपर्छ… त्यसैले ‘सेतो सिम कार्ड’ भएकाहरूलाई (जससँग कम प्रतिबन्ध छन्) दोष नदिनुहोस्।’

वास्तवमा इरानमा सेतो (ह्वाइट) सिम कार्ड भएका मानिसहरूसँग अन्य प्रयोगकर्ताहरूलाई भन्दा राम्रो इन्टरनेट पहुँच छ। जसको पहुँच  धेरै साइटमा पनि छ, जुन सुविधा सामान्य नागरिकका लागि उपलब्ध छैन।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘यो अनौठो होइन… हाम्रो दिमागलाई केही समयको लागि अर्कै कुरामा केन्द्रित गर्न आवश्यक छ ताकि हामी पीडित हुन नपरोस्। सायद हाम्रो जीवन लामो समयसम्म यस्तै रहनेछ।’

सामाजिक सञ्जालका केही सन्देशमा चिन्तासँग जुध्न विभिन्न प्रयास उल्लेख गरिएका छन्।

उदाहरणका लागि एकजनाले लेखेका छन्, ‘मेरो एन्जाइटी (चिन्ता) यति बढ्यो कि मैले बिहान ६ बजेदेखि नै घर सफा गर्न थालेँ।’

इरानमा, ‘इन्टरनेट प्रो’ एक विशेष र सीमित इन्टरनेट सेवा हो, जसमा अपेक्षाकृत कम प्रतिबन्ध हुन्छन् र यो सुविधा निश्चित प्रयोगकर्ताहरूलाई मात्र दिइन्छ।

इरानमा इन्टरनेट पहुँचको विषय अझै मानिसको बहसको केन्द्रमा छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रतिबन्ध, उच्च मूल्य र यसले दैनिक जीवनमा परेका असरबारे लेखिरहेका छन्।

इन्टरनेट असुविधाप्रति आक्रोश

इरानमा सर्वसाधारणलाई इन्टरनेट सीमित गरिएकामा जनआक्रोश छ।इरानमा सर्वसाधारणलाई इन्टरनेट सीमित गरिएकामा जनआक्रोश छ।

केही मानिसले इन्टरनेट पहुँचमा देखिएका समस्या उल्लेख गरेका छन्।

उदाहरणका लागि एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘निकै मुस्किलले एक जीबी स्पेस किन्न पाएँ र यसका लागि १० मिलियन रियाल खर्च गर्नुपर्‍यो।’

अर्का व्यक्तिले इन्टरनेट चाँडै सकिने चिन्ता व्यक्त गर्दै भनेका छन्, ‘मलाई डर लागिरहेको छ- यो महँगो २ जीबी इन्टरनेट स्पेस सकिनेछ र म फेरि अँध्यारोमा जानेछु।’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बारम्बार जोड दिँदै इन्टरनेट सार्वजनिक अधिकार भएको उल्लेख गरेका छन्।

एउटा सन्देशमा लेखिएको छ, ‘खुला इन्टरनेट सबैको अधिकार हो।’

अर्का जनाले लेखेका छन्, ‘अधिकार भिख माग्ने कुरा होइन… इन्टरनेट भनेको इन्टरनेट नै हो। यसमा किन्तु परन्तु हुँदैन।’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘इन्टरनेट प्रो’ नामको योजना पटकपटक उल्लेख गरेका छन्।

उक्त शब्दको अर्थ त्यस्तो इन्टरनेट सुविधा हो, जुन व्यवसाय वा विश्वविद्यालयमा संलग्न व्यक्तिजस्ता विशिष्ट वर्गलाई मात्र दिइन्छ। जसले थप भुक्तानी वा निश्चित कोटामार्फत कम प्रतिबन्धित वा अलि व्यापक किसिमको इन्टरनेट सुविधा पाउँछन्।

तर आम जनताका लागि इन्टरनेट पहुँच पहिलेजस्तै सीमित छ।

‘इन्टरनेट प्रो’बारे किन यति धेरै बहस ?

 

इरानका केही मानिसका लागि राम्रो इन्टरनेट दिइएपछि बहसको विषय बनेको छ।इरानका केही मानिसका लागि राम्रो इन्टरनेट दिइएपछि बहसको विषय बनेको छ।

 

इरानी सामाजिक प्रयोगकर्ताहरूले यो अवस्थालाई ‘वर्ग-आधारित इन्टरनेट’ भनेर पनि टिप्पणी गरेका छन्।

अनि केहीले यस प्रणालीलाई असमान इन्टरनेट पहुँचको उदाहरण भनेका छन्।

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘प्रो इन्टरनेट’को अर्थ हो- सार्वजनिक अधिकारलाई वर्गमा विभाजन गर्नु।’

अर्काले लेखेका छन्, ‘फरक-फरक इन्टरनेट पहुँच प्रदान गरिँदा सामाजिक र वर्ग विभाजन अझ बढाउँछ।’

अन्य पोस्टमा पनि खुला इन्टरनेटसम्म पहुँच र यसमा लगाइएका प्रतिबन्धका विषयमा बहस छ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले अपिल गरेका छन्, ‘ती मानिसहरूको आवाज बनिदिनुहोस्, जसले कैयौँ घण्टादेखि इन्टरनेट पाएका छैनन्।’

धेरै जनाले यस्तो अवस्थाका कारण आफ्ना काम र जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव परिरहेको गुनासो गरेका छन्।

सामाजिक सञ्जालका केही पोस्टमा आर्थिक गतिविधि ठप्प भएको कुरा पनि लेखिएका छन्। खासगरी यसको प्रभाव साना व्यवसाय र इन्टरनेटमा आधारित रोजगारीमा परिररहेको उल्लेख छ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले क्याफेको अवस्था वर्णन गर्दै लेखेका छन्, ‘यसका मालिकले असहाय भएर भने- यो ठाउँ अब मैनबत्तीजस्तै पग्लिरहेको छ, केवल धागोले टिकिरहेको छ।’

अर्को पोस्टमा विभिन्न क्षेत्रमा काम गर्ने महिलाका उत्पादन बिक्री रोकिएको कुरा लेखिएको छ। अनि चेतावनी दिँदै भनिएको छ, ‘अवस्था यस्तै रह्यो भने उनीहरूको जीवन र भविष्यमै असर पर्नेछ।’

केही मानिसले आफ्नो र वरपरका मानिस बेरोजगार भएको गुनासो पनि गरेका छन्।

एक जनाले भनेका छन्, ‘स्टिल र पेट्रोकेमिकल कारखानामा भएको आक्रमणका कारण म र मेरो पूरै परिवार बेरोजगार भएर घरमा थन्किएका छौँ।’

सामाजिक सञ्जालमा इरानीहरूले मूल्य वृद्धिका कुरा पनि बारम्बार उठाएका छन्। एउटा पोस्टमा रोटी र पनिरदेखि औषधिसम्म सबै चिजको मूल्य सूची नै राखिएको छ भने अर्कोमा हालैका महिनाहरूमा अन्डा महँगो भएको कुरा उल्लेख छ।

युद्धको डर र मानसिक तनाव

 

इरानमा युद्धका कारण महँगी अचाक्ली बढेको छ।इरानमा युद्धका कारण महँगी अचाक्ली बढेको छ।

 

सामाजिक सञ्जालका धेरैवटा पोस्टले मानसिक तनावका संकेत पनि स्पष्ट रूपमा प्रस्तुत गरेका छन्।

चिन्ता, रुनु र तनावका कारण देखिने शारीरिक प्रतिक्रियाहरू।

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘तनावका कारण मेरो पूरा शरीर काँपिरहेको छ।’

केही मानिसले अचानक कुनै आवाज सुनिँदा पनि डर लाग्ने तथा फेरि युद्ध सुरु हुने चिन्ताले सताउने गरेको उल्लेख गरेका छन्।

यसै क्रममा एकजनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेघगर्जन हुँदा पनि बम खसेजस्तो लाग्ने।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘धेरै मानिस अझै पनि सामान्य आवाज आउँदा पनि लडाकु विमान खस्यो वा विस्फोट नै भयो भन्ठान्छन्।’

एक महिलाले लेखेकी छन्, ‘सायद भोलि फेरि युद्ध सुरु हुनेछ।’

बीबीसी