काठमाडाैं   ।  अब सरकारी कर्मचारीले प्रत्येक १५ दिनमा तलब–भत्ता पाउने भएका छन् । ४ वैशाखमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट भएको निर्णयका आधारमा अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था मिलाइएको अर्थसचिव डा. घनश्याम उपाध्यायले बताए । उनले भने, ‘हप्ता–हप्तामा तलब–भत्ता दिने अन्तर्राष्ट्रिय अभ्यास पनि छन् ।

खासगरी सार्वजनिक वित्तमा पर्ने चापलाई कम गर्न यस्तो गर्ने प्रचलन छ । नेपालमा भने यो नौलो अभ्यास हो । सुरुवातमा राष्ट्रसेवक कर्मचारीबाट यसको पाइलटिङ गर्न खोजिएको हो । क्रमशः सबै कर्मचारीमा कार्यान्वयन गर्दै लैजाने तयारी छ ।’ महालेखा नियन्त्रकको कार्यालयलाई यसको प्रबन्ध मिलाउन अर्थ मन्त्रालयले पत्राचार गरेको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिए ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले यो निर्णय कार्यान्वयन गर्न सकिने बताए । ‘हामी सरकारको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न तयार छौँ । अबको एक–दुई दिनमै प्रणाली अद्यावधिक गर्छौं । यो तत्काल कार्यान्वयन गर्न सकिन्छ,’ उनले भने, ‘तलब खुलाउने निकायले खर्च लेखन दिन सकेको अवस्थामा वैशाखको पहिलो पाक्षिकमै यो कार्यान्वयन हुन्छ ।’

यो राष्ट्रसेवक कर्मचारीका लागि मात्रै भएको निर्णय हो । शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको हकमा भने तत्काल लागू हुनेछैन । ‘पत्र पूर्ण रूपमा अध्ययन गर्न पाएको छैन । अहिले राष्ट्रसेवक कर्मचारीका लागि मात्रै यस्तो व्यवस्था हुने भनिएको छ,’ उनले भने, ‘तर, क्रमशः शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको हकमा पनि यो लागू हुन्छ । यो व्यवस्था निजी क्षेत्रमा पनि लागू हुन आवश्यक छ ।’

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले यो नीतिले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए । ‘कर्मचारीलाई तरलता र खर्च व्यवस्थापनमा सहज हुनेछ । सम्भवतः अब कर्मचारीलाई उदारो खानुपर्ने बाध्यता हुँदैन,’ उनले भने ।

 डा. घनश्याम उपाध्याय, अर्थसचिव
हप्ता–हप्तामा तलब–भत्ता दिने अन्तर्राष्ट्रिय अभ्यास पनि छन् । खासगरी सार्वजनिक वित्तमा पर्ने चापलाई कम गर्न यस्तो गर्ने प्रचलन छ । नेपालमा भने यो नौलो अभ्यास हो । सुरुवातमा राष्ट्रसेवक कर्मचारीबाट यसको पाइलटिङ गर्न खोजिएको हो । क्रमशः सबै कर्मचारीहरूमा कार्यान्वयन गर्दै लैजाने तयारी छ ।