काठमाडौं । इन्डियन प्रिमियर लिगमा पन्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गरेको छ। आइतबारको डबल  हेडर मध्यको दोस्रो खेलमा चन्डिगढस्थित महाराजा यादावेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाब किङ्सले २०२६ को आइपीएलमा सर्वाधिक रन बनायो।  पन्जाबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २५४ रन बनाएको थियो।

पन्जाबले दिएको २५५ रनको बलियो लक्ष्य पछाएको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०० रन बनाउन सक्यो। लखनउको लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ४३ रनको पारी खेले। उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय मिचेल मार्स र आयुष बडोनीले क्रमश: ४० र ३५ रन बनाए एडन मक्रमले ४२ रन बनाउँदा मुकुल चौधरी २१ रनमा अविजित रहे।

पन्जाबका लागि मार्को जान्सनले सर्वाधिक २ विकेट लिए। अर्शदिप सिंह, विजयकुमार वैशख र युजवेन्द्र चेहलले १-१ विकेट लिए।

हिलो इनिङ्समा ब्याटिङ गरेको पन्जाबका लागि दोस्रो विकेटका लागि ओपनर ब्याटर प्रियांश आर्या र वान डाउन आएका कुपर कोनोलीले १८३ रनको शतकीय साझेदारी गरे।
१३.५ ओभरमा २ विकेटको क्षतिमा १८५ रन बनाएको पञ्जाबका लागि सर्वाधिक ९३ रनको पारी खेले उनले ३७ बलमा ४ चौका र ९ छक्का प्रहार गरे। कोनोलीले ८७ रनको पारी खेले । उनले ४६ बलमा ८ चौका र सात छक्का प्रहार गरे। कप्तान श्रेयस अय्यर ५ रनमा क्याचआउट भए। मार्कस स्कटोनिस २९ रनमा रन आउट हुँदा नेहल बडेरा र शशांक सिंहले क्रमश: १३ र १७ रन बनाए।

लखनउ सुपर जायन्ट्सका लागि बलिङतर्फ प्रिन्स यादव र मनिमरन सिद्धार्थले २-२ विकेट लिए। मोहम्मद सामी र मोसिन खानले १-१ विकेट लिए ‌।

यो जितसँगै पञ्जाब छ खेलमा हालसम्म अपराजित रहँदै अंकतालिकामा शीर्ष स्थानमा रहेको छ। ६ खेलमा ५ जित र १ खेल नतिजाविहीन बन्दा पन्जाब किङ्स ११ अंक जोड्दै अंकतालिकामा राज गरिरहेको छ । पराजित भएको लखनउ सुपर जायन्ट्स तालिकाको आठौं स्थानमा रहेको छ।