हैदराबाद ।  इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गरेको छ।

हैदराबादस्थित राजिव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले  निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन बनाएको थियो।

हैदराबादले दिएको १९५ रनको विजयी लक्ष्य पछाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन मात्रै बनायो।

चेन्नईका लागि म्याथ्यु सर्टले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा ३ चौका प्रहार गरे।  कप्तान ऋतुराज गाइक्वाडले १९ रन बनाउँदा आयुष महत्रेले ३० रन बनाए। सरफराज खानले २५, शिवम दुबे २१ र जेमी ओभटनले १६ रन बनाउँदा अंशुल कम्बोज १३ रनमा अविजित रहे।

चेन्नईलाई रोक्न सनराइजर्स हैदराबादका लागि इशान मलिङ्गाले सर्वाधिक ३ विकेट लिए। नितेश कुमार रेड्डीले २ विकेट लिँदा प्रफुल हिन्ज र शिवाङ कुमारले १-१ विकेट लिए ‌।

त्यसअघि, ब्याटिङ गरेको सनराइजर्स हैदराबादका लागि ओपनरब्याटर अभिषेक शर्मा र मध्यक्रममा आएका हेनरिच काल्सिनले समान ५९र ५९ रनको पारी खेले। पहिलो विकेटका लागि ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडले ७५ रनको साझेदारी बनाएका थिए।
हेडले व्यक्तिगत २३ रन बनाए । नितेश कुमार रेड्डीले १२ रन बनाउँदा सलिल अरोरा र शिवाङ कुमारले क्रमशस् १३ र १२ रन बनाए।

चेन्नईका लागि बलिङतर्फ अंशुल कम्बोज र जेमी ओभरटनले ३-३ विकेट लिए। मुकेश चौधरीले २ विकेट लिँदा गुर्जापनित सिंहले १ विकेट लिए।

चेन्नईलाई पराजित गरेसँगै सनराइजर्स हैदराबादले ६ खेलमा तेस्रो जित दर्ता गरेको छ। ६ खेलमा ३ जित र ३ हारसहित ६ अङ्क बटुलेर हाल अंकतालिकाको चौथो स्थानमा रहेको छ। समान ६ खेल खेलेको चेन्नई भने २ खेलमा जित र ४ खेलमा हार सहित अंकतालिकाको सातौं स्थानमा रहेको छ।

आइपिएलमा आइतबार दुई खेल रहेको छ। पहिलो खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले खेल्नेछन् । पहिलो खेल नेपाली समय अनुसार ३:४५ मा सुरु हुनेछ। दोस्रो खेलमा पन्जाब किंग्स र लखनउ सुपर जायन्ट्सले खेल्नेछन्। यो खेल नेपाली समयअनुसार साँझ ७स्४५ मा सुरु हुनेछ।