बेंगलुरु  । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

घरेलु मैदानमा प्राप्त जितपछि बेंगलुरु ५ खेलमा चौथो जित निकाल्दै तालिको शीर्षस्थानमा पुगेको छ । बेंगलुरु र राजस्थान रोयल्सको समान ८ अंक छ । राजस्थान दोस्रोमा झरेको छ । लखनउ सुपर जायन्ट्स पाँचौं खेलमा तेस्रो हार हो । टोली सातौं स्थानमा यथावत् छ ।

१ सय ४७ रनको विजय लक्ष्यलाई बेंगलुरुले १५.१ ओभरमै पूरा गरेको थियो । विराट कोहली र देवदत्त पाडिकलले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै बेंगलुरुको इनिङ्स उकासेका थिए । कोहलीले आक्रामक इनिङ्स खेल्दै ६ चौका र १ छक्कासहित ३४ बलमा ४९ र पाडिकलले ११ बलमा १ चौकासहित १० रन बनाए । दुवै अभेष खानको सिकार भए । प्रिन्स यादवको बलमा एकै ओभरमा आउट हुनुपूर्व कप्तान रजत पाटिदारले २७ र जितेश शर्माले २३ रन जोडे । रजतले १३ बलमा १ चौका र ३ छक्का र जितेशले ९ बलमा समान २ चौका र छक्का प्रहार गरे । अविजित रहेका टिम डेविड र रोमारियो सेफर्डले समान १४ रन बनाए । ओपनर फिल साल्टले ७ रनमा मात्र जोड्न पाए । उनी पनि प्रिन्सकै बलमा बोल्ड भएका थिए ।

त्यसअघि पहिलो ब्याटिङ निम्तो पाएको लखनउ सुपर जायन्ट्सले २० ओभरमा सबै विकेट गुमाई १ सय ४६ रन बनाएको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान ओपनर मिचेल मार्सको रह्यो । उनले ३२ बलको सामना गर्दै ४० रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । मुकुल चौधरीले भने २८ बलमा ३९ रन थपे । उनले पनि ३ चौका र २ छक्का प्रहार गरे । आयुष बदोनीले २४ बलमा ४ चौका र एक छक्कासहित ३८ रनको योगदान दिए । कप्तान ऋषभ पन्त ३ बल सामना गरेर शून्यमै रिटायर्ड हर्ट भए । बेंगलुरुका बलरमध्ये रसिक सलामले ४ विकेट लिए । भुवेश्वर कुमारले ३ विकेट आफ्नो नाममा लेखाए । क्रुनाल पान्ड्याले २ र जोस हेजलउडले १ विकेट हात पारे ।