सुजीतकुमार झा
जनकपुरधाम। माटोको हिलो एक अर्कालाई दलेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ तर मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुड़शीतल यसैगरी आज सम्पन्न भएको छ ।
जनकपुरधामको चोक–चोकमा युवाहरु एक अर्कालाई हिलो माटो लगाइ रहेका थिए । फेरी यो स्थिति जनकपुरधामको मात्रै नभई मधेश प्रदेशभरी नै रहेको थियो ।
फागु पर्वमा एक अर्कालाई रंग अबीर दले जस्तै यस पर्वमा हिलो माटो लगाउने परम्परा रहेको छ । हिलो खेल्ने कार्यमा सक्रिय रहेका मधेश प्रदेशसभाका  वरिष्ठ उपसचिव विपिन ठाकुरले भने आफुहरु विहानै देखी घण्टौ यो पर्वमा सहभागी भएको थिए । फागु भन्दा बढी उत्साहका साथ यसमा सहभागी हुने गरेको उहाँको कथन थियो ।
जनकपुरधामका विभिन्न युवा कमिटीले हिलो माटो खेल्नका लागी विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा विभिन्न युवा क्लवका पदाधिकारी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी आदीको सहभागिता रहेको थियो । हिलो पर्वका लागि ठाउँ ठाउँमा एकसाता अघि देखि नै हिलोमाटोको व्यवस्था गरिएको थियो । ‘शरीरमा चिकनी माटो लगाउनु पनि स्वास्थ्यको लागि फाइदा रहेको,’ स्कीन विशेषज्ञ डा प्रमोद झाले वताए ।
सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक अध्यक्ष एवं सभामुख रामअशिष यादवले भने ‘मैथिली संस्कृति र परम्परा जोगाउन आफूहरु हिलो माटो खेललाई उत्सवको रुपमा लिने गरेको ।’ उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् ।
जनकपुरधामका विभिन्न क्लवहरु बीच यो पर्वलाई छुट्टा छुट्टै पर्वको रुपमा मनाउने परम्पराको विकास भएको छ । हिलो माटो लगाएर जुड़शीतल सवैले मनाए पनि केही क्लवले यस पर्वको अवसरमा नाला र सडक सफाई गर्ने गर्छन ।
सफाईमा सहभागि रहेका जनक युवा कमिटीका अध्यक्ष मनोज रायले समाजमा सकारात्मक सन्देश छोडोस त्यो उदेश्यले नाला सफाई गरेको जानकारी दिए ।
ग्रामीण क्षेत्रमा अरु भव्यताका संग जुड़ शीतल मनाउने गरिन्छ । धनुषाको गाउँपालिका तथा नगरपालिकाहरुमा अधिकांश व्यक्ति एक ठाउँमा जम्मा भएर हिलो माटो खेलेका थिए । धनुषाको गंगुलीका गुडडु कर्णले यस्ता पर्वले भाइचारा वढाउन वल दिने गरेको बताए । सांस्कृतिविद चनद्रमोहन झा ‘पड़वा’ले बालबालिकादेखि वृद्धसम्म यो पर्वमा सरिक हुनुलेपनि यसको महत्व मिथिलाञ्चलमा अत्यधिक रहेको देखाइरहेको उल्लेख गर्नुभयो ।
बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् ।
नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुरु हुन्छ । जुुडशीतलले प्रकृतिको संरक्षण र सामाजिक सदभाव मुख्य सन्देश रहेको जानकारहरु वताउँछन् । यसमा मिथिलाञ्चलभरी आफुभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिएको छ । परम्पराअनुसार घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन । बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार डा. रेवतीरमण लाल बताउँछन् । पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधीको प्रकोप नहुने) को कामना गरिने हुँदा यसको मुख्य सन्देस कृषिसँग सम्बन्धित रहेको संस्कृतिविद् पड़वाको भनाइ छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ ।
वर्षभरि शितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् । आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ ।
‘सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो,’ संस्कृतिविद् पडवाले वताए । नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ। आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् ।

जुडशीतल पर्वले जललाई बँचाउने, जलको महत्व र माटोको महत्वलाई देखाएको त्यस्तै आफुभन्दा ठूलालाई सम्मान गर्ने, आशिष लिने सन्देश दिने गरेको प्रदेश सभामुख यादवले बताए ।

उनले जुडशितलमा पहिले पहिले ईनार, कुवा, पोखरीहरु गाउँहरुमा युवाहरुले सफाई गर्ने अभियान नै सञ्चालन गर्दै आएकोमा अहिले आएर नयाँ पुस्तालाई जुडशीतलको बारेमा जानकारी समेत नरहेको बताए । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरु यस्ता पर्वको संरक्षणमा महत्वपूर्ण योग्दान खेलिरहेको उनले बताए ।

जुडशीतल प्रकृति पूजाको पर्व हो मैथिली संस्कृतिका जानकार पडवा भन्छन्,‘ जुडशीतलमा मानव मात्र नभई रुख विरुवा समेतलाई जुडाउने(जलसिंचन) चलन छ । यस पर्वलाई मिठो खाने पर्वको रुपमा समेत लिइन्छ । विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी, टिकुलाको चटनी लगायतका परिकार पकाई ईष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ ।’
यो पर्वका दिन घर घरमा बासी बरी भात खाने चलन रहेको छ । जुड़ शीतलका दिन चुल्होलाई विश्राम दिने मिथिलाञ्चलमा चलन रहेको छ ।
शिकार खेल्ने परम्परा पनि यस दिनमा परम्परा रहेको छ ।