चेन्नई   चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ । १ सय ९३ रनको लक्ष्य लिएर आएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६० रनमात्र बनाउन सक्यो ।

५ खेलमा दोस्रो विजय हात पारेपछि चेन्नई एक स्थान माथि उक्लिई आठौंमा पुगेको छ । कोलकाताले कुनै खेल जित्न सकेको छैन । ५ खेलमा चौथो पराजय भोगी कोलकाता १० टोली सहभागी प्रतियोगिताको पुछारमा छ ।

कोलकाताको सुरुआत राम्रो रहेन । फिन एलेन १ रनमै आउट भए । सुनिल नारिनले १७ बलमा समान २ चौका र छक्काका साथ २४, कप्तान अजिन्क्या रहानेले २२ बलमा २ छक्काका साथ २८, अङक्रिस रघुवंशीले १९ बलमा ३ चौका र १ छक्काका साथ २७ तथा रिंकु सिंहले ६ रन बनाए ।

क्यामरन ग्रिनले खाता खोल्न सकेनन् । रमनदीप सिंहले २३ बल खेली ४ चौका र १ छक्काका साथ ३५ रन बनाए । रोभमन पोवेल २२ बल खेली १ चौका र २ छक्काका साथ ३१ रनमा अविजित रहे । चेन्नईबाट नुर अहमदले ३ विकेट लिए । उनले ४ ओभरमा २१ रनमात्र खर्चेका थिए । अंशुल कम्बोजले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९२ रन बनाएको थियो । ओपनर सञ्जु सामसनले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर एवं कप्तान रितुराज गायकवड ७ रनमै आउट भएका थिए ।

आयुष महातरेले ३८ रन बनाए । उनले १७ बल खेली ६ चौका र २ छक्का प्रहार गरे । डेवाल्ड ब्राभिसले २९ बल खेली ४ चौका र २ छक्काका साथ ४१, सरफराज खानले १८ बल खेली १ चौका र २ छक्काका साथ २३ रन बनाए । शिवम दुबे १२ बल खेली १३ र जेमी ओभरटन ६ बल खेली ७ रनमा अविजित रहे । कोलकाताका कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर २ तथा वैभव अरोरा, अनुकुल रोय र नारिनले १–१ विकेट लिए ।