विक्रम संवत् सूर्य सिद्धान्तमा आधारित वैज्ञानिक संवत् हो । यो संवत् सौर्यमानमा आधारित विश्वको सबैभन्दा पुरानो र नेपालको मौलिक संवत् हो । नेपालमा हाल चलनचल्तीमा रहेको विक्रम संवत् चलाउने राजा काठमाडौँ बत्तिसपुतलीका विक्रमादित्य भएको कुरा विभिन्न प्रमाणहरूले देखाएका छन् ।

यो संवत्‌लाई नेपालमा औपचारिक (अफिसियल) कामकाजमा र धार्मिक एवं सांस्कृतिक कार्यमा प्रयोग गरिन्छ । नेपालमा मनाइने धार्मिक तथा सांस्कृतिक कार्य वा चाडपर्वहरू चन्द्रमान र सौर्यमानको समन्वयमा मानिन्छन् । नेपाली पञ्चाङ्गमा यी दुवैलाई समन्वय गरी पञ्चाङ्ग निर्णायक समितिले मिलाएको छ ।

कुनै समयमा भारतमा विक्रमादित्य भन्ने राजा थिए, तिनैले विक्रम संवत् चलाए भन्ने कुप्रचार गरेको पनि पाइन्छ । संयोगले कुनै नाम यो घटनासँग मिल्न गएकै भरमा नेपालमा विक्रम संवत्‌को सुरुवात गराउने उनै विक्रमादित्य हुन् भन्न मिल्दैन । त्यो कुरा मिल्नलाई भौतिक तथा भौगोलिक प्रमाण, कालगणनाको मिलान, ऐतिहासिक घटना विवरणको मिलान आदि कुराको प्रमाणले मात्र भन्न सकिने कुरा हो । यो लेख विक्रम संवत् चलाउने राजा काठमाडौँ बत्तिसपुतलीका विक्रमादित्य नै हुन् भन्ने कुरामा केन्द्रित रहेर तयार गरिएको छ ।

विक्रम संवत् सूर्य सिद्धान्तमा आधारित नेपालको मौलिक संवत् हो । सूर्य सिद्धान्तअनुसार जब सूर्य मीन राशिबाट मेष राशिमा सर्दछन्, तब नयाँ वर्ष सुरु हुन्छ । सूर्य मेष राशिमा प्रवेश गर्नु भनेको वैशाख महिना हो । यही सिद्धान्तअनुसार वैशाख १ गतेदेखि नेपालमा नयाँ वर्ष सुरु हुन्छ । विक्रम संवत्‌को ५६ वर्ष ९ महिनापछि इस्वी संवत्, १३५ वर्षपछि शक संवत्, ६३३ वर्षपछि मानदेव संवत् र ९३६ वर्षपछि नेपाल संवत् सुरु भएको पाइन्छ ।

यसरी हेर्दा विक्रम संवत्‌भन्दा पहिला कुनै पनि संवत् चलेको देखिँदैन । विश्वमा घटेका सबै घटनालाई ईसापूर्व भनी इतिहासमा गणना गरेको पाइन्छ । नेपालको इतिहास पनि पहिला सबै अङ्ग्रेजले नै लेखेका हुन् । पछि नेपालीमा उल्था गरिएको हो । बालचन्द्र शर्माको २००८ मा प्रकाशित ‘नेपालको ऐतिहासिक रूपरेखा’ हेर्दा पहिलो पटक पेज ६८ मा वि.सं. २०१८–२०१९ भनी लेखिएको छ । त्योभन्दा पहिलाको कालगणनाका सबै ठाउँमा ईसापूर्व भनी उल्लेख गरिएको छ ।

विक्रम संवत् विश्वकै पुरानो त भनियो, तर यो संवत्‌को नाम कसरी रहन गयो, कहिलेबाट सुरु भयो र यसका प्रवर्द्धक को हुन् ? भनी ऐतिहासिक प्रमाण खोज्दै जाँदा भविष्य पुराणमा पुगिन्छ । भविष्य पुराणको प्रतिसर्ग प्रथम खण्डको अध्याय सातमा नेपाल काठमाडौँका कुरा भारतका कुरुक्षेत्रका शौनकादि ऋषिहरूले भनेको भनेर धेरै नै टुटेफुटेका कुरा लेखिएको छ । पुराणमा उल्लेख भएअनुसार देवपत्तनका वरिपरि शासन गरेका शङ्खका छोरा गन्धर्व सेन र उनका छोरा भर्तृहरि र विक्रम (विक्रमादित्य) भएछन् । शङ्खपछि भर्तृहरि राजा भएछन् । राजा भएपछि उनलाई वैराग्य आएछ । राज्य भाइ विक्रमलाई दिएर आफू सोमेश्वर पर्वतमा तपस्या गर्न गएछन् ।

यो भविष्य पुराण महाभारतको युद्धकालीन समयमा महर्षि वेदव्यासले लेखेका थिए । त्यो समय भनेको कलियुग सुरु भएको कालगणनाभन्दा ३१ वर्ष पहिलाको कुरा हो । महाभारत युद्ध सकिएको ३१ वर्षपछि कृष्णको मृत्यु भयो । त्यही समयदेखि कलियुग सुरु भएको मानिन्छ । कलियुगको समय गणना गर्दा वि.सं. २०८३ मा ५१२७ वर्ष हुन आउँछ । त्यस हिसाबले भविष्य पुराणको कुरा र विक्रम संवत्‌का कुरा पश्चगामी देखियो । विक्रम संवत्‌भन्दा भविष्य पुराणको लेखन समय करिब तीन हजार वर्ष अघि भयो । तसर्थ यी कुरा समय सन्दर्भमा मेल खाँदैनन् ।

अन्य इतिहासमा उल्लेख गरिएअनुसार विक्रमादित्यले राज्यको काम चलाउन गौशाला (अमरावती नगर) मा प्रशासकीय दरबार बनाएछन् । किंवदन्तीअनुसार यो प्रशासकीय भवन बनाउँदा धेरै दिनसम्म ३२ वटा पुतलीले उनलाई घेरिरहेकाले तिनै पुतलीको सम्झनामा दरबारको सिंहासनमा (कसैले खम्बामा भनेका) ३२ वटा पुतलीको चित्र वा बुट्टा बनाएछन् र दरबारको नाम पनि बत्तीसपुतली दरबार राखेछन् । दरबारकै नामको प्रभावले नगरको नाम पनि बत्तिसपुतली रहन गएछ । भौतिक प्रमाणका रूपमा हालको गौशालादेखि पुरानो बानेश्वरको चोकसम्मको सडकलाई बत्तिसपुतली सडक भनिन्छ ।

यी सबै काम गर्न २५ वर्षका वेताल नामक व्यक्तिले धेरै सहयोग गरेकाले यो दरबारलाई वेताल पच्चिसे र सिंहासनमा ३२ वटा पुतलीको चित्र भएकाले सिंहासनी बत्तिसे पनि भनिन्थ्यो । समय बित्दै जाँदा उनलाई दाजुको सम्झना आएछ । दाजु खोज्न उनी पनि सोमेश्वर पर्वततिर गएछन् र पछि फर्कँदै फर्केनछन् । त्यसपछि बत्तिसपुतली दरबार धेरै समयसम्म खाली नै रह्यो । पुरानो भएपछि भत्केर माटोमुनि गएछ । विक्रम संवत् १९२८ मा यही स्थानमा हालको राम मन्दिर बनेको भन्ने पाइन्छ । यो कुरा इतिहासकार धनवज्र बज्राचार्यले पनि लेख्नुभएको छ ।

विक्रमले शासन गर्दाको समयसम्म चन्द्रमान सिद्धान्तमा मात्र आधारित पञ्चाङ्ग मानिन्थ्यो । चन्द्रमान सिद्धान्त केवल तिथि, नक्षत्र आदिमा आधारित हो, कालगणना होइन । चन्द्रमानअनुसार २९.५ दिनको महिना र ३५४ दिनको वर्ष हुन आउँछ । ३६० डिग्रीको पृथ्वीको व्यासले सूर्यको परिभ्रमण गर्दाको समय हिसाब गर्दाको सूर्यमानअनुसार महिनामा ३० दिन र केही मिनेटका हिसाबले ३६०–३६५ दिन हुन आउँछ । यसरी सूर्यमानअनुसार चन्द्रमानमा ११ दिन पुगेन । चन्द्रमानले संवत् वा यति साल भन्ने हुँदैन । यसले गर्दा वर्ष–वर्षको हिसाब गर्न कठिनाइ भयो ।

यसैले विक्रमादित्यले चन्द्रमान र सूर्यमानलाई समन्वय गरी पञ्चाङ्ग तयार गर्न लगाई सूर्यमान सिद्धान्तमा आधारित संवत्‌लाई देशमा कालगणनाको सुरुवात गराएछन् । आफू (विक्रम) ले आदित्यमा आधारित कालगणना देशमा लागू गरेकाले उनको नाम विक्रम र आदित्यको सन्धि गरेर विक्रमादित्य भएको भन्ने नै पाइन्छ । यो सिद्धान्तअनुसार मेष अथवा वैशाख १ गतेलाई त्यो वर्षको पहिलो दिन मानिन्छ । यसरी नेपालका विक्रमादित्यले विक्रम संवत् सुरु गराएका रहेछन् भन्ने पाइन्छ । यो कुरालाई पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष माधवप्रसाद भट्टराईले पनि स्वीकार गर्नुभएको छ भन्ने सुनिन्छ ।

यही विषयको सम्झना वा खुसियालीमा बाघद्वार (वाग्मती नदीको उद्गमस्थल) मा बाघद्वार मेला, कीर्तिपुरमा चम्पादेवी जात्रा, टोखा चण्डेश्वरीमा सपनतीर्थ जात्रा, भक्तपुरमा बिस्केट जात्रा, कागेश्वरी जात्रा आदि विक्रम संवत्‌को पहिलो दिन वा वैशाख १ गते मनाइने चलन चलेको भनिन्छ, जुन हालसम्म पनि चलिरहेको छ ।

अन्त्यमा, माथि उल्लिखित विश्लेषणका आधारमा नेपालमा विक्रम संवत् चलाउने विक्रमादित्य नेपालकै हुन् भन्ने ऐतिहासिक विवरण उल्लेख गरियो । अब विक्रम संवत् नेपालका विक्रमादित्यले नै चलाएका हुन् भन्ने कुराका बुँदागत रूपमा ऐतिहासिक, भौतिक र भौगोलिक प्रमाणहरू निम्न छन्:

१. विक्रम संवत् भारतका विक्रमादित्य राजाले चलाएको भए त भारतमा पनि विक्रम संवत् चलिरहन्थ्यो नि ! भारतका मान्छेले विक्रम संवत् चलाएको भए भारतमा चाहिँ नचल्ने, नेपालमा मात्र चल्ने हुन्छ र ? भारतमा त औपचारिक कामका लागि इस्वी संवत् र सांस्कृतिक वा धार्मिक कामका लागि शक संवत् चलाइरहेको पाइन्छ । यो कुराले पनि प्रमाणित हुन्छ कि विक्रम संवत् नेपालका विक्रमादित्यले चलाएको मौलिक र पुरानो संवत् हो ।

२. माथि चर्चा गरिएअनुसार विक्रमादित्यले बनाएको बत्तिसपुतली दरबार (हाल राम मन्दिर) भएको ठाउँको नाम हालसम्म पनि ‘गौशाला–पुरानो बानेश्वर सडक’ बत्तिसपुतली नामले चलिरहेकै छ ।

३. बत्तिसपुतली दरबारका कुराबारे पण्डित मुरलीधर भट्टराईले पनि अङ्ग्रेजी भाषामा लेख्नुभएको छ । यसै प्रमाणलाई लिएर लोकमणि पौडेलले पनि नेपालमा विक्रम संवत् चलाउने राजा काठमाडौँ बत्तिसपुतलीका विक्रमादित्य नै हुन् भनेर भन्नुभएको छ ।

४. सोमेश्वरमा तपस्या गर्न गएका दाजु भर्तृहरिलाई खोज्दै भाइ विक्रमादित्य पनि सोमेश्वर पुगेछन् । विक्रमादित्यले दाजुलाई खोज्दै जाँदा चितवनको माडी क्षेत्रको दक्षिणमा पर्ने सोमेश्वर पर्वतपछाडि गुफामा बसेको पाएछन् । सो गुफालाई ‘राजा भर्तृहरि तपस्थल’ भनिन्छ । सो गुफा अझै छँदै छ र यसलाई नक्सामा पनि हेर्न सकिन्छ ।

५. दाजुलाई भेटेपछि केही समय विक्रमादित्य पनि चितवनको माडी क्षेत्रको उत्तरी भागमा शनिश्चर पर्वत शृङ्खलामा एउटा सानो मन्दिर बनाएर बसेछन् । त्यही मन्दिर हाल विक्रम बाबा (विक्रमादित्य) को मन्दिर नामले छँदै छ । यो स्थलमा हाल नेपालकै ठूलो सालको रूख पनि रहेको छ । यो विक्रम बाबा मन्दिरमा माडीका थारुहरू पूजाआजा गर्दै आएको पाइन्छ । ती दुवै स्थान हाल माडीका पर्यटकीय स्थल बन्न पुगेका छन् ।