काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल महानिरीक्षक (आईजीपी)मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हाल प्रशासन तथा मानव स्रोत विभाग प्रमुख रहेका पौडेललाई महानिरीक्षकमा बढुवा गरेको हो ।

महानिरीक्षक राजु अर्याल ४ वर्षे पदावधि पूरा गरी १८ बैशाखदेखि अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त नेतृत्वमा एआइजी पौडेललाई बढुवा गरेको हो । पौडेल हालका आईजीपी अर्यालकै ब्याजी हुन् । चैत २०५४ मा नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरी बल गठनसँगै २०५७ मा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । यो सँगै सशस्त्र प्रहरीमा पौडेल १३औं महानिरीक्षकका रुपमा नेतृत्वमा पुगेका हुन् । १८ वैशाखबाट उनले नेतृत्व सम्हाल्ने छन् ।

उनीसँगै नेतृत्वका लागि अर्का एआईजी वंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए । तर, दाहालभन्दा ५ महिना अगाडी एआइजी बनेका पौडेललाई नै मन्त्रिपरिषद्‍ले आईजीपी बनाएको हो । पौडेल ६ जेठ २०७९ मा एआईजी बढुवा भएका थिए । बढुवा भएसँगै हालको ३० वर्षे अवधिसम्बन्धी हद कायम रहे उनी १८ चैत २०८४ सम्म नेतृत्वमा रहने छन् । अर्का प्रतिस्पर्धी दाहाल त्यही वर्षको २८ असोजमा एआईजी बनेका थिए ।

नवनियुक्त आईजीपी पौडेलमाथि २३ र २४ भदौको जेन-जी आन्दोलनका घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगले विभागीय कारवाही सिफारिस गरेको थियो । तर, सरकारले संगठनमा ‘सिनियारिटी’ कायम गर्दै पौडेललाई नेतृत्वमा लगेको हो ।