लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित हात पारेको छ । लखनउको घरेलु मैदानमा निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि नतिजा ‘सुपर ओभर’ बाट निकालिएको हो । सुपर ओभरमा लखनउ सुपर जाइन्ट्सलाई पराजित गर्दै कोलकाताले महत्त्वपूर्ण दुई अंक बटुलेको छ ।

सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको लखनउले दुई विकेट गुमाएर मात्र एक रन जोड्न सक्यो । जितका लागि २ रनको लक्ष्य पाएको कोलकाताका रिंकु सिंहले पहिलो बलमै चौका हिर्काउँदै जित आफ्नो पक्षमा पारेका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल खडा गरेको थियो । १५६ रनको लक्ष्य पछ्याएको लखनउले पनि २० ओभरमा ८ विकेट गुमाएर १५५ रन नै बनाएपछि खेल टाइ भएको थियो।

लखनउका लागि अन्तिम ओभरमा जितका लागि आवश्यक रन जोड्न नसक्दा खेल सुपर ओभरमा धकेलिएको थियो ।