चण्डीगढ   । श्रेयस ऐरले नेतृत्वदायी भूमिका खेल्दै अविजित ६९ रन बनाएपछि पन्जाब किंग्सले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई हाइस्कोरिङ खेलमा ६ विकेटले पराजित गरेको छ ।

ओपनरद्वय प्रियांश अर्याले २० बलमा ५७ र प्रभसिमरन सिंहले २५ बलमा ८१ रन बनाएर पहिलो विकेटमा ९९ रनको साझेदारी पन्जाबको विजय आधार तयार पारेका थिए । त्यसपछि कप्तान ऐरले जिम्मेवारीपूर्ण इनिङ्स खेलेपछि पन्जाबले २ सय २० रनको लक्ष्य ७ बलअगाडि नै पूरा गरेको थियो । पन्जाबले २ सय रनमाथिको स्कोर पछ्याएर खेल जितेको यो दसौं अवसर हो ।

जारी सिजनमा पन्जाबले चारमध्ये तेस्रो खेल जितेको हो । टोली ७ अंकसहित दोस्रो स्थानमा छ । राजस्थान रोयल्स सुरुका चारै खेल जितेर शीर्षस्थानमा छ । वैभव सूर्यवंशीले २६ बलमा ७८ र ध्रुव जुरेलले ४३ बलमा ८१ रन बनाएपछि राजस्थानले शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको थियो ।

पन्जाब पनि प्रतियोगितामा अपराजित छ । टोलीको कोलकाता नाइट राईडर्ससँगको खेल वर्षाले रद्द भएको थियो । देव्रेहाते अर्याले समान ५ चौका र छक्का तथा प्रभसिमरनले समान ४ चौका र छक्का प्रहार गरे । ऐरले ३३ बल खेल्दै समान ५ चौका र छक्का प्रहार गरे । विजयी चौका प्रहार गरेका शशांक सिंह ९ बल खेल्दै १६ रनमा अविजित रहे । पन्जाबका दुवै ओपनरलाई आउट गरेका सनराइजर्सका सिभाङ कुमारले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

यसअघि अभिषेक शर्माले २८ बलमा ७८ रन बनाउँदै ट्राभिस हेडसँग पहिलो विकेटमा १ सय २० रनको साझेदारी गरेपछि टस हारेर ब्याटिङमा आएको सनराइजर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १९ रन बनाएको थियो । अभिषेकले १८ बलमै अर्धशतक पूरा गरेका थिए । उनले कुल ८ छक्का र ५ चौका प्रहार गरे । हेडले २३ बल खेल्दै ५ चौका र १ छक्कासहित ३८ रन बनाए ।

कप्तान इशान किसन १७ बलमा २७, हेनरिक क्लासेन ३३ बलमा समान १ चौका र छक्कासहित ३९, अनिकेत बर्मा ९ बलमा १८ रन बनाई आउट भए । पन्जाबका अर्शदीप सिंह र शशांकले २–२ विकेट लिए । सनराइजर्सले चौथो खेलमा तेस्रो हार बेहोरेको हो ।