स्टेफेन केव।  के तपाईंलाई मेसिनले सबै कुरा राम्रोसँग गर्न सक्ने भएपछि आफूले के गर्ने होला भन्ने चिन्ता छ ? अचेल एआईले मान्छेको कामलाई विस्थापन गर्ने चर्चा जताततै सुन्न पाइन्छ । लन्डनका मेयर सादिक खानले भर्खरै भनेजस्तै एआईले ‘आम बेरोजगारीको नयाँ युग’ ल्याउने खालका चेतावनीहरू नियमित रूपमा पढ्न र सुन्न पाइन्छ ।

यस्ता चर्चाअनुसार एआईको सम्भावित जोखिमको प्रभाव केवल वित्तीय क्षेत्रमा मात्रै पर्नेवाला छैन । हामीले गर्ने काममा पनि पर्ने निश्चित छ । हामीले गर्ने काममा हाम्रो जीवनको लक्ष्य अन्तर्निहित हुन्छ । जीवनको अर्थ लुकेको हुन्छ । सन् २०२४ मा गरिएको एउटा अनुसन्धानअनुसार सर्वेक्षणमा सहभागी ९३ प्रतिशत व्यक्तिहरू एआईको विकास हुँदै जाँदा आउन सक्ने जीवनको अर्थहीनताबारे चिन्तित रहेको पाइएको थियो ।

स्वाभाविक रूपमा उनीहरूका चिन्ता बुझ्न सकिने खालकै हुन् । तर आफू फाल्तु वा उपयोगहीन हुने मनगढन्ते विनाशकारी परिकल्पना बोक्न भने अपरिहार्य छैन । एआईले हाम्रो जीवन नै बेकामे बनाउँछ भन्ने विचार तीनवटा भ्रमपूर्ण चिन्तन (फ्यालेसी) मा आधारित छ ।

हाम्रो बुझाइमा रहेको पहिलो फ्यालेसी ‘विनर–टेक्स–अल’ हो । अर्थात् जसले जित्छ, ऊ नै बादशाह हो भने जस्तै । यो विचारअनुसार मान्छेको गतिविधि अर्थपूर्ण हुनका लागि हामी त्यसमा उत्कृष्ट हुनुपर्छ । सन् २०१६ मा गुगलको ‘डिपमाइन्ड’ सँग प्रसिद्ध ‘गो’ खेलाडी ली से–दोलको चर्चित खेल भएको थियो । खेलमा उनले हारे । हारेलगत्तै उनले चिनियाँ रणनीतिक खेल ‘गो’ खेलेर एआईलाई हराउन नसकिने भन्दै सन्न्यासको घोषणा गरे ।

उनले छोडेको १० वर्षपछि अहिले पनि ‘गो’ ज्यादै लोकप्रिय खेलका रूपमा कायमै छ । हामीले कुनै पनि गतिविधिबाट सन्तुष्टि पाउनका लागि त्यसमा सबैलाई हराउनैपर्छ भन्ने हुँदैन । म कैयौँ पटक म्याराथन दौडमा सामेल भएको छु । तर म जित्छु भन्ने मलाई कहिल्यै लागेन । अझ मेसिनभन्दा छिटो हुने त सोच्ने कुरै भएन ।

मलाई आफूले राम्रो कसरी गर्न सक्छु भन्नेमै चासो थियो । मलाई सामूहिक भावना र रमाइलोमा धेरै रुचि थियो ।

दोस्रो फ्यालेसी हो– अर्थपूर्ण हुनका लागि ‘बाँच्नका लागि सङ्घर्ष’ हुनुपर्छ । यसलाई हामी ‘सर्भाइभलिस्ट फ्यालेसी’ भन्न सक्छौँ । निराशावादीहरूका अनुसार ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ अर्थात् एजीआईले हाम्रा सबै आवश्यकता पूरा गरेको अवस्थामा हामी त बच्चाजस्तो अवस्थामा हुनेछौँ । अस्तित्वका लागि हामीले केही काम गर्नुपर्दैन ।

तर वास्तविकता ठ्याक्कै त्यस्तो छैन । प्रायःजसो आधुनिक कामहरूलाई सङ्घर्षकै भाषामा व्याख्या गर्न सकिँदैन । यो पक्कै पनि राम्रो कुरा हो । आज पनि हातमुख जोर्नकै लागि सङ्घर्ष गरिरहेका मानिसलाई त्यसबाट मुक्त हुनेबाहेक अर्को चिन्ता छैन । तर उनीहरूका आवश्यकताको सुनिश्चितता गरेको खण्डमा उनीहरू आफ्नो चिन्ताबाट बाहिर निस्किन सक्छन् ।

अमेरिकी मनोवैज्ञानिक अब्राहम मास्लोले भनेजस्तै आवश्यकताको स्तरबाट माथि उठ्छन् । त्यसको अर्थ शारीरिक एवं सुरक्षा आवश्यकता पूरा हुनासाथ हामी आत्मीयता, आत्मसम्मान तथा आफूभित्रको अन्तर्निहित क्षमता र प्रतिभाको बोध एवं आत्मसातीकरण (सेल्फ–एक्चुअलाइजेसन) तर्फ लाग्छौँ ।

तेस्रो हो ‘प्रेजेन्टिस्ट फ्यालेसी’ अर्थात् अहिले हामीले जेलाई काम भन्छौँ त्यही नै अर्थपूर्ण मानवीय क्रियाकलापको सबैभन्दा राम्रो मापदण्ड हो भन्ने बुझाइ । हामीलाई अहिले गर्दै गरेको जस्तै काम गर्न पाइएन भने आफू युभल नोआ हरारीले भने जस्तै ‘उपयोगहीन वर्ग’ अर्थात् ‘युजलेस क्लास’ बनिन्छ भन्ने डर छ ।

र हामीले अहिले जेलाई काम भन्दैछौँ, धेरैजसो त्यस्ता कामको इतिहास पनि केही दशकभन्दा पुरानो छैन । सोच्नुस् त अहिले हामी जसरी कतै बसेर ‘इमेल’ गर्नुलाई नै अर्थपूर्ण काम भन्दैछौँ, हाम्रा पुर्खाहरूले यसलाई अर्थपूर्ण काम ठान्थे र ? अब यस्तै इमेल गर्ने वा कम्प्युटर वा मोबाइल चलाउने काम एआईले खाइदिएकोमा भविष्यमा शोक मानिन्छ होला त ?

अहिलेको हाम्रो समय बिताउने तरिका मात्रै उत्तम हो भन्ने सोच्नबाट हामी जोगिनुपर्छ । केही मानिसहरूले आफ्नो जागिरमा जीवनको अर्थ खोज्दै गर्दा धेरै मानिसहरूले त्यस्तै जागिर छोड्न इच्छुक छन् भन्ने पनि याद राख्नुपर्छ । धेरै धनी देशहरूमा के पाइएको छ भने जागिर छोड्ने उमेरमा पुगेका प्रौढ व्यक्तिहरू अन्य उमेर समूहको तुलनामा ज्यादा खुसी हुने गरेको पाइएको छ ।

परिवर्तनले स्वाभाविक रूपमा अन्योल र बेचैनी पैदा गर्छ । हो, आजकै अवस्थाको आर्थिक तथा सामाजिक प्रणालीमा काम नपाउँदा, काम नगर्दा वा भनौँ फाल्तु हुनुपर्दा वित्तीय एवं मनोवैज्ञानिक पीडा धेरै भोग्नुपर्ने हुन्छ ।

तर यहाँनिर हामीले बिर्सनै नहुने कुरा के छ भने विद्यमान प्रणालीहरूलाई सबैले अर्थपूर्ण जीवन बाँच्न सक्ने बनाउने क्षमता पनि एआईसँग छ । आजको तुलनामा उन्नत लोककल्याणका साधनहरू उपलब्ध हुन सम्भव छ । उदाहरणका लागि ‘युनिभर्सल बेसिक इन्कम’ अर्थात् ‘विश्वव्यापी आधारभूत आय’ मार्फत अझै राम्रो जीवन बनाउन आवश्यक छ । भलै त्यति मात्रै पक्कै पनि पर्याप्त हुँदैन ।

अर्थपूर्ण जीवनको आधार तय गर्न सार्वजनिक नीतिका विविध क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । जीवनको अर्थ र उद्देश्य हरेक व्यक्तिका लागि निजी मामला भए तापनि त्यसलाई हासिल गर्ने अवस्था भने संरचनात्मक विषय हो ।

श्रमबाट स्वतन्त्रतालाई हामीले केवल निष्क्रिय उपभोक्ता बन्नबाट स्वतन्त्र भएको अर्थमा मात्रै बुझ्नुहुँदैन । अन्यथा काम नगरी बस्नुपर्ने अवस्थाले हामीलाई मानसिक थकान, अल्छी एवं दिक्दारीमा पुर्‍याउँछ । जीवनसँगको सक्रिय संलग्नताले अर्थ दिने हो । केही मानिसका लागि त्यस्तो अर्थ जीवनभन्दा पर पनि हुन सक्छ । नीतिले त्यसलाई सघाउनुपर्छ ।

सन् १९३२ मा दार्शनिक बर्ट्रान्ड रसेलले ‘इन द प्रेज अफ आइडलनेस’ शीर्षकको निबन्ध लेखेका थिए । जसमा उनले ‘फुर्सदको विवेकपूर्ण प्रयोग सभ्यता र शिक्षाको परिणाम हो’ भनेका छन् । अब हामीले प्रौढ नागरिकहरूलाई नयाँ सीप सिक्न तथा जीवनभर रुचि कायम राख्ने खालको शिक्षामा पहुँच विस्तार गर्नुपर्छ ।

सक्रिय संलग्नता समुदायबाट पनि आउँछ । त्यस्तो संलग्नतालाई उन्नत सहरी बन्दोबस्तीबाट सघाउन सकिन्छ । शासनको सहभागितामूलक स्वरूपबाट अझ व्यापक बनाउन सकिन्छ । त्यसो गर्दा धेरै मानिसहरू आफ्नो छिमेकको भविष्यमा संलग्न हुन सक्छन् ।

मान्छेबाहेकका अन्य जीवनहरूसँग जोडिएर पनि हामी धेरै हासिल गर्न सक्छौँ । त्यसका लागि प्रकृतिसँगको पहुँच र सामीप्यता थप सशक्त बनाउन सकिन्छ ।

हामी यत्तिकै सन्तुष्ट वा शान्त रहन पक्कै पनि सक्दैनौँ । कमसल तरिकाले डिजाइन गरिएका एआईले हाम्रो निर्भरता बढाउन सक्छन् । साथै हाम्रो आपसी सम्बन्धलाई कमजोर बनाउन सक्छन् । तर त्यससँगै हामी आफ्नो समय कसरी बिताउँछौँ, आफ्नो समाजलाई कसरी व्यवस्थित गर्न सक्छौँ भन्नेबारे पुनर्विचार गर्ने अवसर पनि प्रदान गर्छन् ।

त्यसो हुँदा हामी यसको अधिकतम हिस्सा हाम्रा लागि महत्त्वपूर्ण कुराहरूमा खर्च गर्न सक्छौँ ।

(लेखक क्याम्ब्रिज विश्वविद्यालयको इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड ह्युमानिटीका निर्देशक हुन् ।)

(फाइनान्सियल टाइम्सबाट)