काठमाडौं ।  नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच ठाकुरलाई सभामुख डोल प्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थको सहभागीता रहेको थियो ।

शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएकी हुन् ।

प्रस्तावको पक्षमा २२९ मत परेका थिए। त्यस्तै, विक्षक्षमा पाँच मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा २२ मत परेका थिए। प्रतितिधि सभाको आजको बैठकमा २५६ सांसद उपस्थित रहेका थिए।

उपसभामुखमा ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका सांसदले मत दिएका थिए।

विपक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेकपा (एमाले)का सांसदले मत दिएनन्।

यसअघि सभामुख अर्यालले राप्रपा सांसद सरस्वती तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए। राप्रपा सांसद ज्ञानबहादुर शाहीले राखेको प्रस्तावमा निर्वाचन हुँदा पक्षमा पाँच मत खसेका थिए। राप्रपाका सांसदले मत दिएका थिए।

प्रस्तावको विक्षमा २१५ मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा ३७ मत परेका थिए। रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले विपक्षमा मतदान गरेका थिए भने एमालेले मत दिन्न भन्ने पक्षमा मत दिएको थियो।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २५७ सांसद उपस्थित रहेका थिए। एमालेका सांसदले दुवै उम्मेदवारलाई मत दिइएनन्।

उपसभामुखमा निर्वाचित भएकी ठाकुर श्रम संस्कृति पार्टीकी सांसद हुन्। उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी थिइन्।