हैदराबाद  ऋषव पन्तले कप्तानी इनिङ्स खेलेपछि लखनउ सुपर जायन्ट्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइज हैदराबादलाई पाँच विकेटले पराजित गरेको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि १ सय ५७ रन पछ्याएको लखनउले १९.५ ओभरमा १ सय ६० रन बनायो ।

ऋषवले ५० बलमा अविजित ६८ रन बनाए । उनले नौ चौका प्रहार गरे । बायाँ हाते ब्याटरले जयदेव उनाडकटलाई खेलको अन्तिम ओभरमा तीन चौका प्रहार गरेर लखनउलाई जिताए । त्यस अगाडि ओपनर एडेन मारक्रमले २७ बलमै ४५ रन जोडेका थिए । उनले ६ चौका र दुई छक्का प्रहार गरे ।

हैदराबादले अन्तिम क्षणसम्म लखनउलाई दबाबमा राखे पनि हार भने टार्न सकेन । प्रतियोगितामा लखनउको यो पहिलो जित हो । हैदराबादले भने आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको हो । टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको हैदराबादले ९ विकेटमा १ सय ५६ रन बनाएको थियो । त्यसमा हेनरिक क्लासेनले ६२ रन बनाए । उनले ४१ बलको सामना गरेर ५ चौका र २ छक्का प्रहार गरे । यस्तै नितिशकुमार रेड्डीले ३३ बल खेली ३ चौका र ५ छक्कासहित ५६ रन बनाए । हैदराबादको सुरुआत भने राम्रो रहेन र २६ रन बनाउँदासम्म चार विकेट गुमाएको थियो ।

त्यसै स्थितिमा क्लासेन र रेड्डीले १ सय १६ रनको साझेदारी गरे । प्लेयर अफ द म्याच भने बलर मोहम्मद सामी रहे । उनले ४ ओभरमा ९ रन मात्र खर्चेर कन्जुस्याइँपूर्ण बलिङ गरे र यसक्रममा दुई विकेट हात पारे । सामीले हैदराबादका ओपनरमध्ये ट्रेभिस हेडलाई सात र अभिषेक शर्मालाई शून्यमा आउट पारे । कप्तान इशान किसनल पनि एक रनमै आउट भए ।