काठमाडौँ ।  बिचौलिया समूहसँग कारोबारमा जोडिएको आरोप लागेपछि गृहमन्त्री सुधन गुरुङले २८ दिनमै पदबाट राजीनामा दिएका छन् । बुधबार राजीनामा दिँदै उनले आफूमाथि लागेका आरोपमाथि छानबिनका लागि मार्गप्रशस्त गरेको बताएका छन् । रास्वपा सरकारको एक महिना नपुग्दै राजीनामा दिने गुरुङ दोस्रो मन्त्री हुन् ।

यसअघि श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यतामा निरन्तरता दिने विवादित निर्णयका कारण श्रममन्त्री दीपककुमार साहको मन्त्री पद गुमेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई नियुक्त भएको १३ दिनमै २६ चैतमा पदमुक्त गरेका थिए ।

गुरुङमाथिको विवाद के हो ?

विगत केही महिनायता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चर्चित बिचौलिया दीपक भट्ट र उनीसँग कारोबारमा साझेदार देखिएका शंकर समूहमाथि छानबिन गरिरहेको छ । अन्तरिम सरकारकै पालामा गत मंसिरदेखि उनीहरूमाथि विभागले छानबिन गर्दै आएको थियो । यसैक्रममा गत १९ चैतमा विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई पक्राउ गरेको थियो ।भट्टसहित शंकर समूहका सुलभ अग्रवाल पनि अहिले हिरासतमा छन् ।

भट्ट र अग्रवाललगायतको समूहले हिमालयन रिइन्स्योरेन्स र यसका सहायक कम्पनीबाट अर्बौँ रकम दुरुपयोग गरेको भेटिएको छ । छानबिन अन्तिम चरणमा पुग्दा भट्टसँग गुरुङको पनि शंकास्पद कारोबार देखिएको भन्दै विवाद उठेको छ ।

भट्टको दबाब र छनोटमा ०७९ मंसिरमा नेपाल बिमा प्राधिकरणले सात लघुबिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । त्यसमध्ये लघु जीवन बिमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड थिए ।

त्यस्तै, निर्जीवन बिमा व्यवसायतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड थिए । लाइसेन्स वितरण प्रक्रियामा मात्र होइन, ती कम्पनीको सेयर कारोबारमाथि पनि प्रश्न र विवाद उठेको छ ।

तिनै कम्पनीमध्येको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख मूल्यको २५ हजार कित्ता सेयर देखिएको कागज बाहिरिएको छ । यसका अतिरिक्त भट्टसँग सान्निध्य रहेको र ठुला कारोबारमा संलग्न भएको आरोप गुरुङमाथि छ ।

केही समयअघि गुरुङले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा देखिएको सम्पत्तिउपर पनि छानबिन गर्नुपर्ने आवाज उठेको थियो । यद्यपि, भट्टसँगको सम्बन्ध र विवादित तथा गैरकानुनी कारोबारमा गुरुङको संलग्नता यकिन भने भइसकेको छैन । यसैको छानबिनको माग चौतर्फी उठेपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका हुन् ।

गृहमन्त्रीको राजीनामाबारे रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटी भन्छन्–सरकारमा रहने व्यक्ति विवादरहित हुनुपर्छ भन्ने नै मूल सन्देश हो

गृहमन्त्रीसँग जोडिएर विवाद आएदेखि नै त्यस विषयमा पार्टी सभापति र प्रधानमन्त्रीबिच तथा दुवैसँग गृहमन्त्रीको पनि केही चरणमा छलफल भयो । विवादित विषयमा अल्झिनुभन्दा नैतिकताका हिसाबले राजीनामा दिने भन्ने सल्लाहमै राजीनामा आएको हो । उहाँ (सुधन गुरुङ)ले पार्टीले गर्ने निर्णय र छानबिनमा सहयोग रहन्छ भन्नुभएको छ । आरोप लाग्दैमा कोही दोषी हुँदैन । छानबिनबाट आरोपको पुष्टि भएन वा गलत कार्यमा संलग्नता नदेखिए आवश्यकताअनुसार पूर्ववत् वा अर्को कुनै जिम्मेवारीमा ल्याउन बाधा हुँदैन । मुख्यतः सरकारमा रहने व्यक्ति विवादरहित हुनुपर्छ भन्ने नै मूल सन्देश हो । विवाद उत्पन्न भएपछि नैतिकताको विषय हुन्छ । कतिपय यस्ता विषयले आमजनतामा नकारात्मक असर पर्न जाने हुन्छ भने सुशासनको मामिलामा पनि आघात पर्छ । खाली रहेको गृहमन्त्री पद अब केही समय प्रधानमन्त्रीले आफैँसँग राख्नुहुन्छ । त्यसपछि उहाँले नै उपयुक्त पात्रलाई जिम्मेवारी दिनुहुन्छ ।