नतासा लिन्डस्टेड । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले अप्रिल ८ बिहान अमेरिका र इरानबिच दुई हप्ताका लागि युद्धविराम गर्ने कुरामा सहमति भएको घोषणा गरे । लगत्तै दुवै पक्षका प्रतिनिधिबिच शुक्रबार पाकिस्तानको राजधानी इस्लामाबादमा औपचारिक वार्ता हुने घोषणा गरियो ।

पाकिस्तानले साउदी अरेबिया, इजिप्ट र टर्कीबिच वार्ता आयोजना गरेर इरान युद्ध अन्त्य गर्न आह्वान गरेको दुई हप्ताभन्दा छोटो समयपछि त्यस भेगमा यो नयाँ विकासक्रम विकसित भएको देखियो । चार देशका विदेशमन्त्रीबिच भएको बैठकले तेहरान र वासिंटनबिचको प्राथमिक वार्ता माध्यमको रूपमा आफूहरूलाई स्थापित गर्‍यो । र, सम्भवतः यो गठबन्धनले युद्ध अन्त्यपछि मध्यपूर्वमा इजरायली र इरानी प्रभुत्वलाई रोक्न बनेको नयाँ क्षेत्रीय समूहको सुरुवातको संकेत गर्छ ।

फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गर्नुअघिदेखि नै इजरायल र इरान दुवै यस क्षेत्रमा अलग्गिएका थिए । सन् २०२० मा ट्रम्पले ल्याएको ‘अब्राहम अकोर्ड’ योजनाअनुरूप इजरायल र पश्चिम एसियाको आर्थिक शक्ति साउदी अरबबिच सम्बन्ध सुधार गर्ने लक्ष्य झन्–झन् टाढिँदै गएको छ । इजरायल र केही अरबी देशबिच सम्बन्ध स्थापित गरेको यस योजनाले मूल उद्देश्य साकार बनाउन सकेन ।

संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनले इजरायलसँग सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, साउदी अरबले लामो समयदेखि प्यालेस्टिनी राज्य स्थापनाको ग्यारेन्टी नभई इजरायलसँगको सम्बन्धलाई सामान्य नबनाउने भन्दै आएको छ । तथापि, सन् २०२४ मा इजरायली संसद्मा भएको एक मतदानमा बहुमतले प्यालेस्टिनी राज्य बन्न नदिने पक्षमा मत दायर गरे । सम्बन्ध सुधारको सम्भावना टर्दै गएपछि साउदी अरबले ग्रिस र आफ्नो देशबिच बनाउन लागेको ‘फाइबर–अप्टिक केबल’को ट्रान्जिटका रूपमा इजरायललाई हटाएर सिरियालाई प्रतिस्थापन गर्दै छ ।

गाजामाथि इजरायली आक्रमणलाई लिएर टर्कीले पनि सन् २०२४ देखि इजरायलसँगको सम्पूर्ण व्यापार रोकेको छ । सेप्टेम्बर २०२५ मा कतारको राजधानी दोहामा रहेका हमास नेतामाथि इजरायलले प्रत्यक्ष आक्रमण गरेपछि इजरायल र कतारबिचको सम्बन्ध चिसियो । इजरायलको त्यस आक्रमकताका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले समेत सर्वसम्मत रूपमा निन्दा गरेको थियो ।

उता इरानको एक मात्र मुख्य सहयोगी रुस देखिन्छ भने केही हदसम्म चीन र यमनको हुथी विद्रोही समूह पनि ऊसँग नजिक छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेदेखि नै चीनले इरानबाट आफूलाई टाढा राखेको छ । हुथी युद्धको पछिल्लो समय इरानको समर्थनमा युद्धमा संलग्न भयो । तर, ऊ पछिल्लो केही वर्षदेखि इजरायली आक्रमणका कारण कमजोर छ । मार्च १८ मा कतारको मुख्य ग्यास संयन्त्र ‘रास लाफान’माथि इरानी क्षेप्यास्त्र प्रहार भएपछि कतार र इरानबिचको बचेखुचेको सम्बन्धविच्छेद भएको छ । र, वर्षौंको शत्रुतापछि सन् २०२३ मा चीनको मध्यस्थतामा साउदी अरब र इरानबिच सम्बन्ध सुधार भएको थियो । तर, पछिल्लो एक महिनाको अवधिमा इरानले साउदी ऊर्जा संयन्त्रमाथि आक्रमण गरेपछि सो सम्बन्ध पनि लगभग टुटेको छ । यस पृष्ठभूमिमा इरान र इजरायल क्षेत्रीय रूपमा एक्लिँदा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टले पश्चिम एसियामा स्थिरताका लागि आफ्नो प्रयास तीव्र बनाएका छन् ।

नयाँ व्यवस्था ?
पाकिस्तान, साउदी अरब, टर्की र इजिप्ट चारै देशका केही साझा चासो छन्, जसले उनीहरू पश्चिम एसियालाई पुनः आकार किन दिन चाहन्छन् भन्ने कुरालाई व्याख्या गर्न मद्दत गर्छ । चारै देशको अमेरिकासँग राजनीतिक र आर्थिक सम्बन्ध छ । यही नजिकको सम्बन्धका कारण चारै देश सन् २०२६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा स्थापित ‘बोर्ड अफ पिस’को सदस्य बने । यस निकायले विश्वव्यापी द्वन्द्वलाई सम्बोधन गर्ने र गाजामा दिगो शान्ति तथा पुनर्निर्माणको नेतृत्व गर्ने लक्ष्य राखेको छ ।

साथै यी चारै देशसँग गठबन्धनमा केही योगदान गर्न सक्ने विशिष्ट क्षमता छ । पाकिस्तानसँग आणविक हतियार छ । उता साउदी अरेबियासँग विश्वको दोस्रो ठुलो तेल भण्डार छ । त्यस्तै, इजिप्टले विश्वका प्रमुख समुद्रीमार्गमध्ये एक स्वेज नहरमाथि नियन्त्रण राख्छ भने टर्की नेटो गठबन्धनको सदस्य हो । चारै देशको रक्षा उद्योग धेरै उन्नत छन् भने उनीहरूको कुल जनसंख्या ५० करोड हुन्छ । एकसाथ लिँदा यो गठबन्धनले राजनीतिक तथा सैन्य रूपमा विश्वका सबैभन्दा प्रभावशाली मुस्लिमबहुल देशको प्रतिनिधित्व गर्छन् ।

तर, यी चार राष्ट्र स्वाभाविक रूपमा प्राकृतिक सहयोगी हुन सक्ने देश भने होइनन् । उनीहरूको सम्बन्धको इतिहास हेर्ने हो भने तिनमा विभिन्न उतारचढाव देखिन्छ । उदाहरणका लागि साउदी अरब र इजिप्टको सम्बन्धलाई प्रायः ‘कठिन विवाह’को रूपमा व्याख्या गरिन्छ । इजिप्ट कुनै समय ‘प्यान अरब’ राष्ट्रवादको चालक शक्ति थियो । धर्मनिरपेक्षवादी र सबै अरब राज्यबिच एकता हुनुपर्छ भन्ने विचारलाई बढावा दिने यो आन्दोलनलाई साउदी अरबले आफ्नो अस्तित्वको खतराको रूपमा हेरिरह्यो । तर, होस्नी मुबारक अपदस्थ भएर सन् २०१४ मा अब्देल फताह अल–सिसी राष्ट्रपति बनेदेखि यो आन्दोलन कमजोर बन्यो । त्यसयता दुई देशको सम्बन्ध सुधार हुँदै गएको छ । अल–सिसीले सन् २०१५ मा हुथीविरुद्ध साउदी नेतृत्वमा चलिरहेको सैन्य अप्रेसनलाई  समर्थन प्रदान गरे । त्यसले इजिप्ट र साउदी अरेबियाबिच रक्षा सम्बन्धलाई गहिरो बनाउन सघायो ।

केही समयदेखि रिसेप तैयप एर्दोगानको नेतृत्वमा टर्कीले आफूलाई क्षेत्रीय नेता तथा समस्या समाधानकर्ताको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । तथापि, टर्की आफैँले भने  क्षेत्रीय शक्तिसँग चिसो सम्बन्धको अवधि सहेको छ । टर्कीसँग नजिक रहेका तत्कालीन इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ को कुमार्फत अपदस्थ गरिएपछि अंकाराको नवगठित सैन्य सरकारसँग सम्बन्ध बिग्रियो । त्यस्तै, सन् २०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खसोग्गीको हत्यापछि टर्की र साउदी अरबबिचको तनाव निकै चुलियो । सन् २०२१ को एक अमेरिकी गुप्तचर रिपोर्टअनुसार साउदी युवराज मोहम्मद बिन सलमान आफैँले खसोग्गीको हत्यालाई अनुमोदन गरेका थिए । सन् २०२२ मा टर्की र साउदी र त्यसपछि सन् २०२५ मा टर्की र इजिप्टबिच बल्ल सम्बन्ध पुनर्स्थापित भयो ।

टर्कीका राष्ट्रपति एर्दोगानले फेब्रुअरी २०२६ मा कायरो र रियादको भ्रमण गरे । त्यस भ्रमणमा उनले एसियालाई युरोपसँग जोड्न विभिन्न भू–आर्थिक ढाँचा प्रस्ताव गरे । यसमा एसिया, फारख खाडी र युरोपबिच आर्थिक एकीकरण वृद्धि गर्ने उद्देश्यसाथ अघि सारिएको आर्थिक करिडोर ‘मध्यपूर्व करिडोर’ पनि समावेश छ । उता पाकिस्तान यस द्वन्द्वमा इरानबाट आक्रमण हुँदा साउदी अरबको सहयोगमा अहिलेसम्म आएन । जबकि, सन् २०२५ मा दुई देशबिच भएको रणनीतिक पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षरअनुरूप दुईमध्ये कुनै देशमाथि आक्रमण भए अर्कोले सहयोग गर्ने विषय समेटिएको छ ।

साउदी अरब, इजिप्ट, पाकिस्तान र टर्कीबिच सबै कुरामा सधैँ समर्थन देखिँदैन । तर, इजरायल र इरानबाट बढ्दो जोखिमबिच उनीहरूबिच विकसित ‘सुविधाको सम्बन्ध’ अहिले दिन–प्रतिदिन महत्वपूर्ण हुँदै गएको छ ।

नतासा ‘एसेक्स विश्वविद्यालय’को ‘सरकार तथा प्रशासन विभाग’की प्राध्यापक हुन् ।
– द कन्भर्सेसनबाट