नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकालेको छ। मंगलबार राति ढिला सुरु भएर मध्यरातपछि सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो। वर्षाका कारण टस नै समयमा हुन सकेको थिएन । त्यही कारण खेल पनि ११ ओभरमा घटाइएको थियो। ११ ओभरको खेलमा राजस्थानले दिएको १५१ रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।नमन धिर र शेरफन रदरफर्डले सर्वाधिक समान २५ रन बनाए । तिलक वर्माले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

राजस्थानका लागि नान्द्रे बर्गर, रवि विश्नोई र सन्दीप शर्माले २-२ विकेट लिँदा जोफ्रा आर्चर र तुषार देशपान्डेले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो। ओपनर यशश्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार सुरुवात दिलाए।

जैसवाल ३२ बलमा ७९ रनमा अविजत रहे । उनले १० चौका र ४ छक्का प्रहार गरे। वैभवले १४ बलमा ३९ रन बनाएर आउट भए । कप्तान रियान परागले २० रन बनाए। मुम्बईका अलाह गजनफरले २ विकेट लिँदा शार्दुल ठाकुरले १ विकेट लिए। लगातार तेस्रो जितसँगै ३ खेलमा ६ अंक जोडेको राजस्थान शीर्षस्थानमा उक्लिएको छ । ३ खेलमा २ अंक भएको मुम्बई सातौं स्थानमा छ।