रावलपिण्डी ।  अमेरिका र इरानबिच दुई हप्ताका लागि युद्धविराम भएको छ। अमेरिकाले विशाल हमला गर्ने चेतावनी दिएपछि इरान तत्कालका लागि स्ट्रेट अफ हर्मुजको अवरोध हटाउन तयार भएको हो। पाकिस्तानको मध्यस्ततामा यस्तो युद्धविराम भएको हो। इरानका विदेशीमन्त्रीले पनि दुई हप्ताका लागि आफुहरू स्ट्रेट अफ हर्मुज खुलाउन तयार भएको प्रतिक्रिया दिएका छन्। स्ट्रेट अफ हर्मुज समुद्री मार्गमा अवरोध हुँदा विश्वभरी पेट्रोलियम पदार्थको समस्या बढेको छ।

ट्रम्पले मंगलबार बेलुका ८ बजेसम्म स्ट्रेट अफ हर्मुज नखुले हमला गर्ने र विश्वकै एउटा सभ्यता अन्त्य हुने चेतावनी दिएका थिए। सो डेडलाइन सकिनुभन्दा १० मिनेटअघि सहमति जुटेको पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरिफले बताएका छन्।

गत २८ फेब्रुअरीदेखि इरानमाथि इजरायल र अमेरिकाले हमला गर्दै आएका छन्। अमेरिकाको सैन्य क्याम्प रहेका देशहरुमा इरानले जवाफी फायर गर्दा त्यसयता मध्यपूर्वमा युद्धका कारण अस्तव्यस्त बनेको छ। त्यसको असर विश्वभरी नै बढ्दै गएको थियो।