अहमदाबाद  राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको छ ।

राजस्थानका लागि बलिङतर्फ रवि विश्नोइ चम्किँदा २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रनमात्रै बनाउन सक्यो ।

अहमदाबाद रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रनको विस्फोटक पारी खेले । यसै गरी ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका थिए ।

गुजरातका लागि कागिसो रबाडाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए भने अशोक शर्मा र रासिद खानका नाममा १/१ विकेट रह्यो ।

२ सय ११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ४४ बलमा ७३ रन बनाए । जोस बटलरले २८ र रासिद खानले २४ रन जोडे । अन्तिम २ ओभरमा जितका लागि १५ रन आवश्यक रहेकामा गुजरातले ८ रन मात्रै जोड्न सक्यो र ६ रनले हार बेहोर्‍यो ।  राजस्थान यो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले लगातार दुई खेल जितेको छ ।