विराटनगर ।   भर्खरै दसैँ सकिएको थियो। मानिसहरू आफन्तको हातबाट टीका लगाएर फर्किएका पनि थिएनन्। फर्किनेहरू पनि कतिपय बाटोमा नै थिए। कोजाग्रत पूर्णिमा सकिन नपाउँदै मोरङको लेटाङमा एउटा बालिका हराउँछिन्।

कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् असोज २१ देखि लेटाङ नगरपालिका वडा नम्बर २ फडानीकी १२ वर्षीया बालिका अंशु गौतम बेपत्ता भइन्। स्थानीय नवीन गौतमकी १२ वर्षीय छोरी अंशु हराएको कुराले सबैतिर हल्ला खल्ला हुन्छ।

कहाँ गइन् कता गइन् भन्नेमा सबैले खोजी गर्छन्। तर कतै फेला पर्दिनन्। प्रहरीमा बालिका हराएको बारेमा जानकारी पुग्छ र, सबैको सहयोगबाट बालिकाको शव कात्तिक ७ मा बीभत्स अवस्थामा फेला पर्छ।

बालिका हराएको झन्डै १७ दिनपछि उनको शव फेला परेपछि प्रहरीले हत्या भएको आशङ्कामा अनुसन्धान थाल्छ। १ महिनासम्म पनि निरन्तर अनुसन्धान गर्दा पनि प्रहरी निष्कर्षमा पुग्न सकेन। उनको हत्या कसले कसरी गर्‍यो भन्ने बारेमा प्रहरी जवाफ दिन सक्ने अवस्थामा थिएन।

तर जब प्रहरी हत्या गर्ने व्यक्तिसम्म पुग्यो अनि मात्रै मङ्सिर १९ गते मात्रै प्रहरीले यथार्थ बाहिर ल्याउने अवस्थामा पुग्यो। आइतबार मात्रै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलई सार्वजनिक गर्यो।

बालिकाको बलात्कारपछि हत्या गरेको तथ्य बाहिरिएको छ। प्रहरीले यो घटनालाई बीभत्स भनेको छ।

यसरी भएको थियो घटना
विद्यालय बिदा थियो। असोज २१ को दिउँसो अंशु आफ्नी साथीसँगै खेल्दै थिइन्। दुई जना साथीहरूलाई नै अधिकारीले बोलाउँछन्। खेलिरहेका बेलामा उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथीले पैसा माग्छिन्।  उनले त्यो भन्दा अघि पनि बालिकाहरूलाई पैसा दिने, फकाउने गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्छ।

अंशुको साथीलाई अधिकारीले पाँच रुपैयाँ दिएर दिदीलाई लिएर आउन भन्छन्। माछा मार्न खोलामा गएकी दिदी भएको ठाउँतिर उनको साथी जान्छिन्। त्यसपछि अंशु एक्लै भएको मौकामा अधिकारीले उनलाई आफूसँगै घाँस काट्न साइकलमा बस भनेर साइकलमा राखेर जङ्गलतर्फ लग्ने प्रस्ताव गर्छन्।

हजुरबुबा जस्तो मानिसले भनेको नटेर्नु पनि कसरी? टाउको हल्लाएपछि उनले अंशुलाई पैदल नै जङ्गलको मुखसम्म आउनू भनेर आफू साइकलमा त्यता लाग्छन्। जङ्गल छेउमा पर्खिरहेका अधिकारीले अंशु आइपुगेपछि साइकलको पछाडि राखेर झन्डै ४ किलोमिटरभित्र जङ्गल भित्र पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

साइकलमा भित्र लिएर जाने बित्तिकै अधिकारीले बालिकामाथि बलात्कार गरेको प्रहरी उपरीक्षक कविता कटुवालले जानकारी दिए।

‘बलात्कार पछि अधिकारीले पहिला बालिकाको घाँटी थिचेको, त्यसपछि हतियार प्रयोग गरेर हँसियाले घाँटी रेटेको स्वीकार गरेको छ,’ एसपी कटुवालले नेपालखबरसँग भने, ‘घटना असाध्यै बीभत्स खालको छ, सुरुमा उसले घाँस काट्न भनेर लगेको भए पनि पछि उसले बलात्कार पछि हत्या गरेको देखिन्छ।’

सुरुमा जङ्गल भित्र बालिकालाई बलात्कार गरेपछि बालिकाले भनिदिने डरले हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। प्रहरी अनुसन्धानको क्रममा पहिलो कुरा यौन चाहना, दोस्रो कुरा रिसिईबी र तेस्रो कुरा बदलाको भावनाका कारण यो घटना भएको खुलेको छ।

पक्राउ परेका अधिकारीले अंशुको हत्यापछि ३ पटकसम्म हत्या गरेको ठाउँसम्म हेर्नको लागि जाने प्रयास गरेको तर बाटोबाट नै फर्किएको प्रहरी समक्ष स्वीकार गरेको अनुसन्धान अधिकारीहरूले बताएका छन्। सुरुमा छिमेकी भएका कारण सामान्य सोधपुछ गर्दा स्कुलमा भेटेको पदमबहादुरले प्रहरीसँग बताएका थिए। त्यति बेला उनकी साथीलाई ५ रुपैयाँ दिएको पनि स्वीकारेको प्रहरीले जनाएको छ।

अधिकारीको घरमा कहिलेकाहीँ अंशु टिभी हेर्न जाने, अंशुलाई मोबाइल चलाउने दिने काम पनि अधिकारीले गर्ने गरेको र पछि त्यही विषयमा अधिकारी र अंशुका बाबुआमाको बिच रिसिईबी समेत रहेको प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएको छ।

प्रहरीलाई छल्दै भारत पुगेका थिए
असोज २१ मा छोरी बेपत्ता बनेपछि अंशुका परिवारले असोज २२ मा खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए। असोज २५ मा  आफन्त, स्थानीय बासिन्दा, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जङ्गल क्षेत्रमा सर्च अपरेसन नै सञ्चालन गरेको थियो।

कात्तिक ७ गते अंशुको शव गन्हाएको अवस्थामा जङ्गलमा गाउँलेहरूले फेला पारेको प्रहरीले जनाएको छ। स्थानीय घाँस दाउरा गर्न जङ्गलमा जाँदा केही गन्हाएको थाहा पाएर हेर्दा अंशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अंशुका बुबा नवीन गौतमले कपडाहरूको आधारमा शवको पहिचान गरेका थिए। त्यसपछि बल्ल उनको कसैले हत्या गरेको भन्ने अवस्थामा प्रहरी र स्थानीय पुगेका थिए।

अंशुको हत्यारा पत्ता लगाउन प्रहरीले घाँस दाउरा लिनका लागि जङ्गल जानेहरूमाथि निगरानी बढाएको थियो। सबै क्षेत्रबाट अनुसन्धान गर्दा कुनै सङ्केत फेला परेको थिएन। प्रहरीले अनुसन्धान बढाइरहेको बेला कात्तिक १९ मा पदमबहादुर घर छाडेर हिँडेका थिए।

उनले घर छाड्नु भन्दा अघिल्लो दिन मात्रै उनका छोरा जेलबाट छुटेका थिए। पदमका छोरा सीताराम जबरजस्ती करणी प्रयास उद्योगमा सजाय भुक्तानपछि कात्तिक १८ मा घर फर्किएका हुन्। छोरालाई घर सम्हाल्न भन्दै उनी भारततिर लागेका थिए। घर छाडेर उनी मेघालय पुगे।

घरमा छोरालाई बाहेक कसैलाई पनि थाहा नदिई मेघालयमा गाई फार्ममा काम गर्नको लागि त्यहाँ पुगेको प्रहरीलाई बताएका थिए। परिवारका सदस्य मार्फत उनलाई बोलाउन लगाउँदा उनले आनाकानी गरेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार, उनले घर फर्कन आनाकानी गर्न थालेपछि प्रहरी टोली मेघालय जाने तयारीमा पुगेको थियो। पछि आफन्तले फकाएपछि अधिकारी मङ्सिर १९ गते घर आउने भने पनि १८ साँझ नै घर आएपछि प्रहरीलाई पक्राउ गर्न सजिलो भएको थियो। उनलाई प्रहरीले मङ्सिर १९ गते पक्राउ गरेको थियो। पक्राउ परेका अधिकारीले बालिकाको हत्या स्वीकार गरेको प्रहरीको दाबी छ।

घटनाका दोषीलाई पत्ता लगाउन प्रहरीले घरपरिवार, छिमेक, विद्यालय, गाउँलेहरू सहित ३ सय बढी मानिससँग बयान लिएको र ५४ जनाको लिखित जाहेरी सङ्कलन गरेको जनाएको छ।