Home / news / भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर प्रदेश २ को सरकारद्वारा तयारी शुरु, १३ वटा समिति तथा उपसमिति निर्माण गरियो

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर प्रदेश २ को सरकारद्वारा तयारी शुरु, १३ वटा समिति तथा उपसमिति निर्माण गरियो

दूधमती समाचारदाता
जनकपुरधाम, बैशाख ११ ।
भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको हुने जनकपुर भ्रमणलाई लिएर प्रदेश २ को सरकारले तयारी शुरु गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमण भव्य बनाउनका लागि मंगलबारदेखि प्रदेश सरकारले छलफल शुरु गरेको हो । उहाँको भ्रमण अघि जनकपुरधामको सरसफाई, मञ्च व्यवस्थापन, सुरक्षा, नागरिक अभिनन्दन लगायतका विषयमा छलफल केन्द्रित रहेको छ ।
प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले मोदीको भ्रमणलाई सफल तुल्याउनका लागि पहिलो चरणको बैठक सम्पन्न भएपनि विभिन्न चरणमा बैठक बसी ब्रिफिंग गर्दै जाने बताउनुभयो । यसकालागि विभिन्न १३ वटा समिति तथा उपसमितिहरु निर्माण गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सरकारका मन्त्रीहरु, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत सम्मलित सो बैठकमा मोदीको भ्रमणलाई भव्य बनाउन के के गर्न सकिन्छ, सुरक्षा चुनौती, सौन्दर्यीकरण लगायतको विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई मध्य नजर गर्दै प्रदेश सरकार ५ घेराको सुुरक्षा व्यवस्था गर्ने तयारी गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो । मोदीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धानका अधिकारी लगायतका गरी ५ वटा सुरक्षा घेरा खटिने भएको छ । मन्त्री यादवले सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहने बताउँदै सुरक्षालाई लिएर चिन्ता नगर्न आग्रह समेत गर्नुभयो ।
भारतीय प्रधानमन्त्रीको भ्रमणबाट प्रदेश सरकारदेखि लिएर स्थानीवासीहरु उत्साहित भएपनि जनकपुरमा चलि रहेको विकास निर्माणका कार्यहरुका कारण सरसफाईको अभाव, सडकको अभाव लगायतका समस्याहरु देखिएको छ । यसकालागि भ्रमणको समयमा प्रयोग हुने सडक तथा भ्रमण स्थललाई सौन्दर्यीकरणको कार्य छिट्टै सम्पन्न गर्न हामी लागि परेको मुख्यमन्त्री राउतले बताउनुभयो । सरकारको पहिलो प्राथमिकतामा प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाम भ्रमण गराउनु मात्रै रहेको बताउँदै मुख्यमन्त्री राउतले मोदीको भ्रमणलाई लिएर अपेक्षा राख्नु उचित नहुने बताउनुभयो ।
वैशाख अन्तिम साता नेपाल भ्रमणमा आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री मोदीको वैशाख २८ गते जनकपुर आउने कार्यक्रम रहेको छ । जनकपुर भ्रमणको क्रममा उहाँको जानकी मन्दिरमा पूजा अर्चना गर्ने भ्रमण तालिका रहेको छ भने रंगभूमि मैदान १२ बिघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ ।
मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा नागरिक अभिनन्दनमा प्रदेश दुईको आठ वटै जिल्लाका नागरिकलाई सहभागि गराउने तयारी गरिरहेको बताउनुभयो ।

About Sujeet Jha

Check Also

संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीको प्रदर्शन, प्रदेशभरी व्ल्याक आउटपनि

दूधमती समाचारदाता जनकपुरधाम, असोज ३ । संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुर सहित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com