सुजीतकुमार झा
जनकपुरधाम, १७ भदौ ।
जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा तर्पण गर्नेहरुको आज विहानैदेखि भीड लागेको छ । कोरोना संक्रमण समुदायमा बढी रहेको बेला केहीसातादेखि जनकपुरधाम क्षेत्रमा निषेधाक्षा लगाइएको छ । तर यसको असर तर्पन गर्नेहरुमा परेको छैन । विहानैदेखि गंगासागरमा भीड लागेको छ । समाजिक दूरीलाई समेत पालन गरिएको छैन । गाउँ गाउँबाट मानिसहरु गंगासागरमा नुहाउन आएका छन ।
वुवा स्वर्गीय भएकाहरु यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन् । १५ दिनसम्म चल्ने यो पर्व गर्दा स्वर्गीय भइसकेका पूर्वजहरुलाई शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।


यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाई छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद्हरु वताउँछन ।
सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए ।
जनकपुरधामको गंगासागर मिथिला नरेश जनकले बनाएकाले धार्मिक दृष्टिले यसको महत्व बढी भएकाले हजारो व्यक्ति यहाँ आउने गरेको ज्योतिषि संतोष आचार्यले बताए ।

१५ दिनको समयलाई पितरपक्ष भनिन्छ । स्थानीयवासीहरु प्रत्येक वर्ष वर्षोदेखि यहाँ पूजा गर्न आउँछन । बाजेलाई, वुवालाई गंगासागर मै प्रत्येक वर्ष तर्पण गर्न यहाँ आएको देखिएकोले आफूपनि आएको स्थानीय लक्ष्मी साहले बताए । गंगासागरमा तर्पण गर्न नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट पनि निकै संख्यामा मानिसहरु पहिला जनकपुरधाम आउथे तर यसपाली भारतीयहरु आएको छैन । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेखित गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तैगरी, दोस्रो वार्षिक एकोदिष्टदिनैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । चौथो हो, विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचौँ सपिण्डि श्राद्ध हो । छैठौँ पार्वण श्राद्ध हो ।

सातौँ गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौँ पितृ तृप्ति विद्धान्हरूको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्मण भोजन शुद्धि श्राद्ध हो । नवांैमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांग श्राद्ध हो । दसौँ देवताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा घिउले गरिने यात्रा श्राद्ध हो ।

र बाह्रौँमा शरीर स्वस्थ होस् भनी गरिने पुष्टिश्राद्ध हो । त्यस्तैगरी, अर्को पाँच प्रकारको श्रद्धा रहेको छ । यो श्राद्ध भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचाँै पार्वण श्रद्धा हो । यी सबैमध्ये हाम्रो समाजमा एकोदिष्ट श्राद्धको विशेष महत्व छ ।

आफ्ना पितृहरूको वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । त्यस्तैगरी, सालको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खासगरीकन सोह्र श्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझ्नुपर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ । आफ्ना पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ ।

एक पार्वण श्राद्ध औँशी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ । हिन्दू समाजमा सोह्र श्राद्धको आफ्नै महत्व छ । श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरूको उदार गर्ने कार्य हो । हाम्रो समाजको सबैभन्दा ठूलो पर्व दसैँ तिहार हो यो पर्व मनाउनुभन्दा पहिले आआफ्नो पितृहरूलाई आदसाथ श्राद्धपूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ ।

यसकारणले गर्दा परापूर्वकालदेखि नै यो संस्कार चलिरहेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update