दूधमती समाचारदाता
जनकपुरधाम, १५ साउन ।
कोरोना महामारीको त्रास बढन थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले थप सात करोड निकासा गरेको छ । महामारीको त्रास बीच प्रदेश सरकारको कडा आलोचना भइरहेको थियो । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले आइसोलेशन व्यवस्थापनमा गम्भीरता नदेखाएको अस्पतालमा भेन्टिलेटर नरहेको जस्ता कार्यलाई लिएर मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहको चर्को आलोचना भइरहेको थियो ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड हस्पीटल निर्माण तथा हाल संचालनमा रहेका आइसोलेशनहरुको थप व्यवस्थापन, विरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागी सात करोड निकासा गरेको हो ।
आजको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५÷७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०÷५० लाख निकासा गरिएको छ ।
आवश्यकताको आधारमा जिल्लाहरु बाट मांग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नु होस्

corona

corona update