दूधमती समाचारदाता
जनकपुरधाम, २८ असार ।
निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएपछि औपचारिक रुपले दूबै दल एक भएको छ । दूबै दल एक भएपछि आफूले एक गराएको भनेर श्रय लिने कार्य पनि शुरु भएको छ । श्रयका लागि जसपा नेता राजेन्द्र महतोका नजिकहरु अगाडि देखिएका छन । नेता महतोका ज्वाई अनिल महासेठले समाजिक सञ्जालमा महतोलाई श्रय दिई धन्यवाद पनि दिएका छन । राजपामा केन्द्रिय सदस्य रहीसकेका महासेठ अहिले प्रदेश २ का सभामुखका सल्लाहकार समेत रहेका छन । राजनीतिक कार्यक्रममा जहिलेपनि उनी महतोसंग देखा पर्ने गर्छन ।
उनले लेखेका छन सुरु देखि लागेर पार्टी एकिकरनणको लागि आफ्नो पद र नम्बरको परबाह नगरी यो मिसन लाई सफल बनाउनु भएका हाम्रा बरिस्ठ नेता राजेन्द्र महतो ज्यु लाई बिशेश धन्यवाद ! आगामी दिन मा सबै लाई समेटेर पार्टी एकीकरण को बाकी काममा सबै को साथ र सहयोग रहने नै छ !
आज देखि जनता समाजबादी पार्टी , नेपाल को सदस्य ! नेपालमा बैकल्पिक शक्ति को आबस्यकताक छ! यसको लागि तत्कालीन राजपा र सपा एक हुनु पर्छ भन्ने उदेश्य का साथ लाग्नु भएका सबै लाई धन्यवाद छ पनि सो स्टेटसमा लेखिएको छ ।
जसपाले दल दर्ताका लागि गत वैशाख ११ गते आयोगमा निवेदन दिएको थियो ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो दललाई निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र प्रदान गरेको जानकारी दिएका हुन् ।

सांसद संख्या ३९ः एक जेलमा, एक निलम्बन, एक खाली

दुई पार्टीवीच एकीकरणले औपचारिक मान्यता पाएसँगै जसपा नेपालसँग अब ३९ जना सांसद भएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका १९ र समाजवादी पार्टीका १८ गरी ३९ जना सांसद जसपा नेपालसँग छ ।

उता, तत्कालीन समाजवादी पार्टीका सरिता गिरीलाई हालै बर्खास्त गरेपछि तत्कालका लागि भने जसपाका संसदमा ३८ जना मात्रै सांसद बाँकी रहने छन् ।

जसमध्ये राजपा नेपालका रेशम चौधरी ‘टिकापुर नरसंहार’को दोषीको रुपमा थुनामा छन् भने समाजवादीका अर्का सांसद हरिनारायण रौनियार ठेक्कापट्टा घोटालामा मुछिएपछि निलम्बनमा छन् ।

जसपा नेपालसँग ३९ जना सांसद मात्रै भए पनि बैठकमा भाग लिन पाउने र मतदान गर्न पाउने ३६ जना मात्रै सांसद हुनेछन् भने केही दिनमा हालै बर्खास्तीमा परेकी गिरीको ठाउँमा जसपा नेपालले नयाँ सांसद चयन गर्ने केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

जसपामा झन्डै दुई दर्जन पार्टीका अध्यक्ष

एकीकरणबाट जसपा नेपाल गठन हुदाँसम्म झन्डै दुई दर्जन दल जोडिन पुगेका छन् ।

यसअघिको प्रावधान फेर्दै पार्टी बिभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुवै तिर कम्तिमा ४०–४० प्रतिशत सदस्य अनिवार्य भएको र राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट मत हुनुपर्ने प्रावधान राखेपछि पार्टीहरु बिभाजन भन्दा एकीकरणतर्फ मोडिएका हुन् ।

जसअनुसार तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीमार्फत एकीकरणका दुईवटा हाँगोवाट जसपा नेपालसम्म आईपुग्दा झन्डै दुई दर्जन पार्टी मिसिएका छन् ।

७ बैशाख, २०७४ मा राजपा नेपाल गठन हुदाँ तत्कालीन अवस्थाका ६ वटा तराई मधेस केन्द्रीत दलवीच एकीकरण भएको थियो । जसअनुसार महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्रराय नेतृत्वको तराई मधेस सदभावना पार्टी, अनिलकुमार झा नेतृत्वको संघीय सदभावना पार्टी नेपाल र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक गरी ६ पार्टी मिलेर राजपा नेपाल गठन गरिएको थियो ।

तराई मधेस केन्द्रीत ६ वटा पार्टी मिलेर गठन भएकाले राजपा नेपालमा ६ जनाको अध्यक्ष मण्डलको व्यवस्था मात्रै गरिएन, चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक हुने व्यवस्था पनि गरिएको थियो ।

‘राजपा नेपाल गठन भएपछि पनि अन्य स–साना दल राजपा नेपालमा आबद्ध भएका थिए,’ झाले शिलापत्रसँग भने । उनका अनुसार राजपा नेपालमा रामकुमार ओझा नेतृत्वको जनशक्ति पार्टी, आरके खुम्बु नेतृत्वको खुम्बुवान राष्ट्रिय पार्टी, मानध्वज ब्लोन नेतृत्वको जनमुक्ति पार्टी, निलकण्ठ महर्जन नेतृत्वको आदिवासी जनजाति पार्टी र राजपाबीच एकीकरण भएको थियो ।

राजपा बन्नुअघि नै महतो नेतृत्वको सद्भावनाले राजकुमार लेखी नेतृत्वको नागरिक पार्टीदेखि अनिल झा नेतृत्वको सदभावनाले झन्डै एक दर्जन पार्टी र स साना सशस्त्र समूहलाई आफनो पार्टीमा बिलय गराएका थिए ।

राजपा नेपालसँग मात्रै होइन, समाजवादी पार्टीसँग पनि झन्डै आधा दर्जन पार्टीहरुले एकीकरण गरेका थिए ।

सुरुमा २०७२ असार ३२ गते संघीय समाजवादी फोरम गठन गर्दा तीनवटा पार्टी सामेल थिए । जसअनुसार उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र युवराज कार्की खस समावेशी राष्ट्रिय पार्टी मिलेर संघीय समाजवादी फोरम गठन भएको थियो ।

संघीय फोरममा पछि सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टी, कुमार लिङदेन नेतृत्ववाट बिभाजन भएर आएको लिम्बुवान राष्ट्रिय मुक्ति पार्टी, खगेन्द्र माखिम नेतृत्वको संघीय लिम्बुवान परिषद, केशव दाहाल नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीलगायत समावेश भएका थिए ।

त्यसमाथि स–साना तराई मधेस केन्द्रीत दल र सशस्त्र समूह पनि संघीय फोरममा समावेश भएका थिए । संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २५ बैशाख, २०७५ मा एकीकरण भइ समाजवादी पार्टी गठन भएको थियो ।

‘आदिवासी जनजाति र मधेशी समुदायको हकहितका लागि गठन भएका एक दर्जन हाराहारी पार्टी तत्कालीन संघीय फोरमसँग एकीकृत भएका थिए’, सजपा नेपालका बरिष्ठ नेता अशोक राईले भने ।

गत १० बैशाखमा यी दुई मुख्य पार्टी राजपा नेपाल र समाजवादी पार्टी बिच एकीकरण गर्ने सैद्धान्तिक सहमति भए पछि २५ जेठमो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको थियो ।

निर्वाचन आयोगवाट प्रमाण पत्र

दल बिभाजन गर्न खुकुलो पार्ने गरी केपी ओली सरकारले अध्यादेश ल्याएपछि गत १० बैशाखमा एकीकरण गर्ने सहमति दुवै पार्टीले गरेका थिए । तर, दल दर्ताका लागि भने २५ जेठमा आयोगमा निवेदन दिए ।

एक महिना पछिको छानबिन र कारवाही प्रक्रिया सम्पन्न गरेपछि आइतवार दर्ता नम्बर १५९ मा निर्वाचन आयोगले जसपा नेपाललाई प्रमाणपत्र दिएको छ ।

‘राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा १० बमोजिम देहायका राजनीतिक दलहरु एक आपसमा एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दल कायम रहने गरी आयोगवाट निर्णय भएकाले यो प्रमाणपत्र दिइएको हो’ आयोगको प्रमाण पत्रमा उल्लेख छ ।

केन्द्रीय कार्यकारिणी समितिका ५३ जना नै पदाधिकारी

राजपा नेपाल र समाजवादी पार्टीवीच एकीकरण गर्ने बेला ५३ जनाको केन्द्रीय कार्यकारिणी समिति सदस्य बनाइएको छ ।

‘अहिले केन्द्रीय कार्यकारिणी समिति भने पनि खासमा यस समितिमा रहने सबै सदस्य पदाधिकारी हुन, हाल ५ जनालाई मात्रै जिम्मेवारी दिइएको छ,’ झाले शिलापत्रसँग भने, ‘अब ५३ जनालाई अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, बरिष्ठ नेता जस्ता पद दिइनेछ भने मर्यादाक्रम पनि छुटयाइने छ ।’

हाल यो समितिमा राजपा नेपालका २६ जना र समाजवादीका २५ जना गरी ५३ जना छन् भने तत्कालका लागि ५ जना पदाधिकारी चयन गरी पार्टी दर्ता गराइएको हो ।

महन्थ ठाकुर र उपेन्द्र यादव कार्यकारी अध्यक्ष रहेको जसपा नेपालमा पार्टीका सम्पूर्ण निर्णयहरु दुई जनाको हस्ताक्षर पछि मात्रै आधिकारिता मानिने छ भने बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो तत्कालका लागि बरिष्ठ नेताको रुपमा छन् ।

भट्टराई संघीय परिषदको अध्यक्ष भनिए पनि मर्यादाक्रम नमिल्दा जसपा नेपालमा उनको स्थान अझै टुंगिएको छैन ।

वालकुमारीमा केन्द्रीय कार्यालय

राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जसपा नेपालको केन्द्रीय कार्यालय भने ललितपुरको वालकुमारी रहने भएको छ ।

तत्कालीन समाजवादी पार्टीको केन्द्रीय कार्यालय रहेको वालकुमारीमा नै उक्त पार्टीको केन्द्रीय कार्यालय रहने भएको हो भने बबरमहलस्थित राजपाको कार्यालय भने खाली हुने भएको छ । सरकारले मधेसी कर्मचारी संघलाई उपलब्ध गराएको भवनमा राजपा बस्दै आएको थियो ।

यो पनि पढ्नु होस्

corona

corona update