सुजीतकुमार झा
जनकपुरधाम

धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ सन्तनगरस्थित चारनाथ खोलाको नदी उकास जग्गामा ३६ भूमिहिन परिवारको घर निर्माण कार्य शुरु गरिएको छ । ह्याविट्याट फर नेपाल र धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले सो भवन बाँसवाट निर्माण गरिनेछ । १ करोड ९८ लाख रुपैयाँको लागतमा ३६ वटा घर निर्माण हुने छ । एउटा घर निर्माणमा ५ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । भूमिहीन र अव्यवस्थित बसोबासीहरूका लागि जग्गाधनी प्रमाणपूर्जा सहितको सुरक्षित आवास निर्माण गर्न लागिएको छ ।
पहिलोदिन दातृ निकायका प्रतिनिधि र भूमिहिन मिलेर सो घरका लागि श्रमदान गरेका छन् । यो एउटा अलग अनुभव रहेको छ, आफ्नो घर सबै बनाउँछन् तर अरुको खासगरेर गरीबको घरका लागि श्रमदान गर्नुको अकैै मज्जा रहेको ह्याविट्याट फर नेपालका कन्ट्री डाइरेक्टर एलिजा स्थापितले बताइन ।
प्रत्येक घरधुरीलाई १० धुर जग्गामा निर्माण हुने ३६ वटा पक्की घरको गत शनिवार एकसाथ शिलान्यास गरिएको छ । प्रदेशसभा सदस्य सन्जय कुमार महतो, गाणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जितनारायण यादव र उपप्रमुख तुलसाकुमारी पाण्डेले संयुक्त रुपमा घरको शिलान्यास गरेका थिए । नगर प्रमुख यादवले हरेक जनतालाई खान बस्न र स्वास्थ्यको सुविधा हुनुपर्छ यसका लागि आफूहरु तत्पर्य रहेको बताए ।
सिआइसी धनुषाका अध्यक्ष संजय साहका अनुसार एकै मोडलमा बन्ने प्रत्येक घरमा दुई वटा कोठा, एउटा भान्छा र शौचालय हुनेछ। प्रत्येक घरका लागि छुट्टाछुट्टै चापाकलको व्यवस्था गरिने छ । घर निर्माणपछि सुकुम्बासी परिवारको आयस्तरमा वृद्धि ल्याउन रोजगार, बस्तीका बालबालिकाको पहुँचमा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न कार्यक्रम पनि सञ्चालन गरिने उनको भनाइ छ । सन्तनगरका भूमिहीन सुकुम्बासीलाई छिट्टै लालपूर्जा सहितको सुविधायुक्त सुरक्षित आवास उपहारमा दिन लागेको उपमेयर पाण्डेले बताइन । उनले यो परियोजनाको लागि यसवर्ष नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको जनाए । अगामी आर्थिक वर्ष ७४ लाख रुपैया दिने सम्झौता रहेको समेत बताइन ।
६० लाख ह्याविट्याट फर नेपाल र सामुदायिक सुधार केन्द्रले खर्चिने तथा बाँकी श्रमदानबाट जोहो गर्ने गरी स्रोत सुनिश्चित गरिएको छ । सन्तनगर बस्तीमा पासमान, महरा, खत्वे, दनुवार गरी ३६ घरधुरी वर्षौदेखि अव्यवस्थित रुपमा बसोबास गर्दै आएका छन् ।

लेखक बारे