दूधमती समाचारदाता
जनकपुरधाम, १७ असार ।
कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट बच्न र बचाउन थप सर्तकता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बाहिरबाट आई जिल्ला प्रवेश गर्नेहरुलाई अनिवार्य रुपले १४ दिनसम्म क्वारेन्टाईनमा राख्ने भएको छ ।
कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।
कोरोना संक्रमितको संख्या बढिरहेका बेला यस जिल्लामा थप संक्रमण भित्रिन नदिन यस्तो कडाई गरिएको उनले वताए । कोरोनाको बढदो संक्रमण भएको जनकपुर लगायत काठमाडौं,पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी जस्ता बढि जनघनत्व भएका शहर तथा जिल्ला सदरमुकामहरुमा आवतजावत गर्दा अनिवार्य रुपमा १४ दिन स्थानीय तहका क्वारेन्टाइन अथवा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था भएपछि मात्र आवागमनको अनुमति दिनेगरि व्यस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी समेत रहेका प्रशासकिय अधिकृत गणेश मिश्रले बताए ।
कोरोना भाइरसको बिश्वभर महामारी फैलिएसँगै यस जिल्लामा २ हजार १ सय १५ बेड क्षमताको ५२ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । यस जिल्लामा अहिले ६ सय ३८ जना क्वारेन्टाइनमा र ४ सय जना होम क्वारेन्टाइनमा छन् भने १ सय ४५ बेड क्षमताको आइसोलेसनमा ८१ जनालाई राखिएको छ ।
प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ४ सय ३९ पुगेको छ ।
संक्रमित मध्ये ३ हजार २ सय २८ पुरुष र २ सय ११ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।
प्रदेशभरीमा मंगलबारसम्म ४३ हजार ४६ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ४ सय ३९ जना संक्रमित भएका छन् भने ३६ हजार २ सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै सप्तरीमा ३ सय ६६,सिरहामा ५ सय १७,धनुषामा ३ सय ६७,महोत्तरीमा ५ सय ८२,सर्लाहीमा २ सय ५०,रौतहटमा ६ सय ६३,बारामा १ सय ३९ र पर्सामा ४ सय ५६ जना गरि कुल ३ हजार ३ सय ४० जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ८ सय १६ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ६ हजार ६ सय ४४ जनालाई राखिएको छ भने १६ हजार ४ सय १८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ७ सय ९६ बेड क्षमताको आईसोलेशनमा ८ सय ४ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै सर्लाहीमा ६ सय २४,महोत्तरीमा ६ सय २१,धनुषामा ३ सय ५२,सप्तरीमा १ सय ९४, सिरहामा १ सय ७१, पर्सामा १ सय ५९ र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय ४, सिरहाका ६२,धनुषाका २ सय ५६,महोत्तरीका १ सय ५४,सर्लाहीका ४ सय ७८,रौतहटका ४ सय २,बाराका ९८ र पर्साका १ सय ७१ जना गरि १ हजार ७ सय २५ जना संक्रमितहरु डिस्चार्ज भई आ आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट,बारा र पर्साका १–१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update