मिथिलाञ्चलमा सामा चकेवा पर्व, साँझ पार्न साथ महिलाहरु समूह बनाइ समा खेल्दै

Byदूधमती साप्ताहिक

८ मंसिर २०८०, शुक्रबार १५:५० ८ मंसिर २०८०, शुक्रबार १५:५० ८ मंसिर २०८०, शुक्रबार १५:५०

सुजीतकुमार झा
जनकपुरधाम

भाइबहिनीको प्रेमको प्रतीक सामा चकेवा पर्व मिथिलाञ्चलमा अहिले चलिरहेको छ । भाइको दीघार्यूका लागि महिलाहरुले माटोको मूर्ति बनाइ सामा चकेवा पर्व खेल्ने गर्छन ।
प्रत्येक राती महिलाहरु एकठाउँमा जम्मा भइ खेल्ने यो पर्वको धार्मिक एवं सांस्कृतिक महत्व रहेको मिथिला संस्कृतिका जानकारहरु वताउँछन् । सामा चकेवा पर्वका जानकार मोती झाले रातिको बेला रातो रंगको बाँसको डालामा राखेर दियोबाली गाउँका वा शहरका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्थलहरुमा गीत गाउँदै महिलाहरुले सामा चकेवा खेल्ने गर्छन वताइन् ।
सामा चकेवा पर्व कातिक पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने गर्छन् भने एघारौँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने परम्परा रहेको छ । सामा चकेवा कलामर्मज्ञहरूद्वारा यसको कथासूत्रको रोचकता, आकर्षक दृश्यात्मकता, गीत–सङ्गीत–नृत्य र यसको पारम्परिक स्वरूपलाई अवलोकन गरी यसको अभिनय पक्षलाई पारम्परिक ‘लोकनृत्य’का रूपमा व्याख्या गरेको पाइन्छ ।
शिक्षण पेशासँग आबद्ध दीपिका झाले सामा पर्व मनाउनुको पछाडी भाई र बहिनी बिच निरन्तर माया र प्रेम रहिरहोस भन्ने अभिप्राय रहेको वताइन । उनले सामा खेल्न माइती आएकी छिन ।
सामा चकेवा पर्वको सुरुवात द्वापरयुगमा सुरु भएको मान्यता रहेको छ । कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तीले मनपराएको तर, साम्बाको विवाह चारुवाक भन्ने व्यक्तीसँग भएकोमा त्यसको प्रतिशोध लिन चुडकले कृष्णको सामु उसको छोरीको चरित्र ठिक नभएको भनी कुरा लगाएको र कृष्णले पनि सत्य तथ्य पत्ता नलगाई रिसको झोकमा छोरीलाई पंक्षी बन्ने सराप दिएका थिए । पछि ज्वाई चारुवाक कृष्णलाई भेटी आफ्नी पत्नि निर्दोेष र स्वच्छ छवि कि भएकी बताएको र आफू उनी बिना बाँच्न नसक्ने भनी गुहार लगाएको र आफूलाई पनि पंक्षी नै बनाईदिन आग्रह गर्दा कृष्णले उनलाई पनि पंक्षी नै बनाइदिएका थिए र कुरा लगाउने चुडक (चुगला)लाई देश निकाला गरेका थिए । आफ्नो बहिनी साम्बा र बहिनी ज्वाई चारुवाकको सरापलाई निस्कृय गर्न साम्बले कातिक शुक्लपञ्चमीदेखि कातिक शुक्ल पूर्णिमासम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साँझ नृत्य र पूजा गरि भगवान भोलेनाथलाई खुसी पारेको र भगवान खुसी भई साम्बा दम्पतीलाई पुनः मानव जिवन बरदान दिएको मान्यताका साथ यो पर्व मनाइदै आइएको छ ।
‘गोपेश्वर महादेवको मन्दिर परिसरमा गीत र नृत्य गरी भगवान् भोलेनाथलाई प्रसन्न तुल्याएमा ती दम्पतीको पक्षीयोनीबाट छुट्कारा हुने उपाय बताउनुहुन्छ । यसै उपायलाई अनुसरण गरी साम्ब महिलाहरूलाई सङ्गठित बनाउँदछन् र आँफूले पनि शिवको आराधनामा घनघोर तपस्या गर्दछन् ती सङ्गठित साध्वी स्त्रीहरूले शिवालयको परिसरमा साथै भगवान् श्रीकृष्णको दरबार जाने चौबाटोमा प्रत्येक साँझ गीत र नृत्य प्रस्तुत गर्दछन्,’ सिआइसी जनकपुरधामका अध्यक्ष समेत रहेका संस्कृतिविद् संजय साहले वताए ।
उनले भने – साम्ब र द्वारिका पुरीका समस्त साध्वी स्त्रीको आराधनाले शिव प्रसन्न हुनुहुन्छ र साम्बाका जोडीलाई पंक्षीयोनीबाट मुक्त बनाउनु हुन्छ । स्त्रीहरूको सङ्गठित प्रतिरोध, चेलीबेटी र माइतीबीचको अटूट प्रेम र घुसघुसे एवं पोल्याहा(चुगला)हरूलाई सजाय दिने सन्देश बोक्ने यही उत्सव हो–‘सामा–चकेवा’पर्व ।
छात्रा रीजा झाले शिक्षा मनोरञ्जन सबै कुरो यो पर्वको माध्यमले भेटाइरहेको वताइन । ‘आफू एकदर्जन महिलाका साथ घर नजिकैको सडकमा सामा खेल्न प्रत्येक साँझ जाने गरेको,’ उनले वताइन ।
भाईको उमेर लामो होस् र उसलाई कुनै रोग व्याधी नलागोस् भन्ने विश्वासका साथ मनाईने यो पर्वमा बहिनीहरूले सामा,चकेवा,चुगला आदीको माटोको विभिन्न प्रतिमा बनाई वा बजारबाट किनी बाँसको डालामा हाली साँझको समय गाउँका सवै केटी, आइमाई लगायतका ले सामा चकेवा र भाई बहिनी सम्बन्धित विभिन्न गीत गाउने र भाईको लामो उमेरको कामना गर्ने चलन रहेको छ ।

लेखक बारे