दूधमती समाचारदाता
जनकपुरधाम
नैतिक शिक्षाको अभावमा मधेशमा अपराधिक घटनाहरुमा वृद्वि भइरहेको जनकपुरधाममा आयोजित एक समारोहमा वक्तहरुले वताएका छन् । मधेशी आयोगले आयोजना गरेको मधेशी समुदायको सशक्तिकरण अन्तर्गत नैतिकवान मधेश तथा सशक्त नैतिक शिक्षा कार्यक्रम २०८० मा बोल्दै नेपाली र मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले शिक्षाको अभावमा समाजमा अपराध, सम्मान सबैमा असर परेको वताए ।
नैतिकपतन र नैतिकवानका सन्दर्भमा बिश्वका धेरै उदाहरणहरु प्रस्तुत गर्दै उनले भने, ‘जो आफै नैतिकपतन व्यक्ति हुन्छ उस्ले अरुलाई उपदेश दिनु निन्दनीय हुन्छ ।’
सो अवसरमा आयोगका अध्यक्ष डा. विजय दत्तले २०७८ सालको जनगणनालाई टेकेर मधेशका समग्र विषयमा वर्तमान अवस्था बारे एक कार्यपत्र प्रस्तुत गरेका थिए ।
मधेशको भुगोल, जनसंख्या, लैंङ्गिक विभेद र अन्तर, मधेशको प्रति व्यक्ति आय, जनघनत्वको अवस्था सहितको कुराहरु कार्यपत्रमा रहेको थियो ।
सञ्चारकर्मी र मानवअधिकार क्षेत्रमा देखिएका चुनौति र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार सुजीतकुमार झाले स्वतन्त्र पत्रकारिताको अभावमा प्रजातान्त्रिक समाजको कल्पना सम्भव छैन । प्रजातान्त्रिक संस्कृतिकलाई हुर्काउन र संस्थागत बनाउन पनि पत्रकारिता अत्यन्तै आवश्यक विषय भएको उल्लेख गरेका छन् । ‘अन्तिम सत्य के हो ? कसैलाई थाहा हुँदैन । उपलब्ध तथ्यका आधारमा अहिलेसम्मको सत्य यो हो भनेर मान्नुपर्छ । त्यसैले पत्रकारको काम तथ्यहरु सार्वजनिक गर्दै जाने हो, सत्य यही हो भनेर निष्कर्ष निकाल्ने होइन,’ सो कार्यपत्रमा उल्लेख रहेको छ ।
‘घटना र तथ्य धेरै हुन्छन् । त्यसमध्ये कुन कुन घटना र तथ्यलाई समाचारको रुपमा प्रस्तुत गर्ने भन्ने सम्बन्धमा पत्रकारले पूर्वाग्रह र बदनियत राख्ने सम्भावना हुन्छ । यहींनेर व्यावसायिक धर्मको महत्व हुन्छ । समाचार जहिले पनि सन्तुलित हुनुपर्छ,’ कार्यपत्रमा अगाडी लेखिएको छ ।
समारोहमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अधयक्ष राजेशकुमार कर्णले राजनीतिक दलले पत्रकारलाई चटुकार बनाइदिएको बताउँदै यसले पत्रकारिताको विश्वसनियामाथि असर परिरहेको उल्लेख गरेका छन् ।
मधेशी आयोगका सचिव रुद्रप्रसाद लामिछानेले मधेशी आयोगको माध्यमले मधेशीको समस्या उठाउने र समाधानका लागि पहल गर्ने बताए ।
समारोहमा सञ्चारकर्मी, मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
लेखक बारे
