दूधमती समाचारदाता
जनकपुरधाम, १४ असार ।
रौतहटमा दुई जना वडाध्यक्षमा पनि कोरोना संक्रमण देखिएको छ । क्वारेन्टिन बाहिरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये दूई जना वडाध्यक्षपनि रहेका छन ।
बौधीमाई नगरपालिकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र सात जना कर्मचारी गरी कुल १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए ।
शनिबार आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार उनीहरूमा संक्रमण पुष्टि भएको उनले बताए ।
जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरू संक्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ गरी तत्काल कोरोना परीक्षण गरिनुपर्ने माग स्थानीयले राखेका छन् ।
संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई नगरक्षेत्रभित्र रहेको विद्यालयमा निर्मित आइसोलेसनमा पठाइएको छ । यता रौतहटको दुई वटा स्थानीय तहलाई सिल गरिएको छ । बौधीमाई र ईशानाथ नगरपालिकालाई आइतबारदेखि सिल गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन क्वारेन्टिन बाहिरका व्यक्तिहरूमा कोरोना संक्रमण देखिनु ठूलो चिन्ताको विषय भएकाले महामारीको रुपमा बढ्न नदिन बौधीमाई र इशनाथ नगरपालिकालाई सिल गर्ने निर्णय भएको उनको भनाइ रहेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update