जनकपुरधाम होलिमय, ठाउँ–ठाउँमा जोगिरा गायन ।। एक अर्कालाई रंग अबिर दल्दै

Byदूधमती साप्ताहिक

१६ चैत्र २०७७, सोमबार ०९:५४ १६ चैत्र २०७७, सोमबार ०९:५४ १६ चैत्र २०७७, सोमबार ०९:५४

सुजीतकुमार झा
जनकपुरधाम
होली देशभरी उत्साहका साथ मनाउने गरिन्छ । खासगरी मिथिलाको होलीको आफनै पहिचान रहेको छ । यहाँ श्रीपञ्चमी देखि नै होली शुरु भइहाल्छ जसरी जसरी होली नजिक आउँछन, उत्सवको उत्साह बढदै जान्छन ।
रंग अबिरका पर्व होली जनकपुरधाम सहित तराईका विभिन्न जिल्लामा आज मनाइदै छ । विहानैदेखि एक अर्कालाई रंग अबिर लगाईदै छ । परिक्रमाको एकदिनपछि जनकपुरधाममा होलि खेलिने परम्परा रहेको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार १५ दिने परिक्रमाका दिन दिनभरी पूजापाठ र नगरको परिक्रमा भएकाले पूर्णिमाको विहानपल्ट मात्रै होलि खेलिने जनकपुरधाममा परम्परा रहेको छ ।
आपसी मेलमिलाप र सद्भावको पर्व होलीमा विभिन्न रङ र लोला खेलेर रमाइलो गरिन्छ । तर, यस वर्ष पनि कोरोना महामारीको कारण सरकारले भिडभाड गरेर होली खेल्न निषेध गरेको छ । संक्रमण फैलिन नदिन घर परिवारमै बसेर फागु पर्व मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । यो निषेधको जनकपुरधाममा कुनै प्रभाव परेको छैन ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी शेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको राम गढ भन्ने स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृतसाहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

 

यो पनि पढ्नु होस्

corona

corona update