सुजीतकुमार झा
जनकपुरधाम, २९ फागुन ।
मैथिली भाषाको कथा गोष्ठी जनकपुरधाममा शनिवार सम्पन्न भएको छ । एकदिवसीय सो गोष्ठीमा १२ जना कथाकारले कथा पाठ गरेका थिए । कथापाठ गर्नेमा रोशन जनकपुरी, महेन्द्रकुमार मिश्र, ई.विनोदचन्द्र झा, सुजीतकुमार झा, प्रेम विदेह ललन, राजेन्द्र ललन, पुनम झा मैथिली, राकेशकुमार झा रसिक, जयन्त ठाकुर, सपना कर्ण, प्रियंका मिश्र लगायतका कथाकारहरुले कथापाठ गरेका थिए । दूई सत्रमा भएको सो गोष्ठीमा कथापाठ समारोहका अध्यक्षता कथाकार रामभरत साहले गरेका थिए ।
अध्यक्षता गर्दै कथाकार साहले मैथिली भाषाको विकासका लागि युवा विद्यार्थीहरुलाई जोडन सल्लाह दिएका छन । पठित कथामाथि विनोदचन्द्र र रोशन जनकपुरीले टिप्पणी गरेका थिए । विनोदचन्द्रले लेखनमा निखार ल्याउन पुस्तक पढने संस्कृतिलाई विकास गर्न सुझाव दिएका छन । अर्का समीक्षक रोशन जनकपुरीले कथा लेखनका साथै समीक्षक बढाउन आयोजकहरुलाई सुझाब दिएका छन । क्याम्पस र विद्यालयमा सहित्य पढाउने शिक्षकलाई सहभागि गराउँदा गुणस्तरीयता आउने उनको सुझाब रहेको छ । समीक्षक जनकपुरीले नयाँ कथाकारलाई निरन्तर लेख्न सुझाब समेत दिएका छन ।
मैथिली विकास कोष महिनाको अन्तिम शनिवार जनकपुरधाममा कथा गोष्ठी गर्दै आएको छ । गत तिन महिनादेखि कथागोष्ठी लगातार हुादै आएको छ ।
सो कथा गोष्ठीको उदघाटन गर्दै प्रदेश २ को मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले आफनो मातृभाषालाई जोगाउन मैथिलहरुले योगदान दिनुपर्ने बताए । आफू नेपाल प्रेस इन्स्टिच्यूट र क्षेत्रीय संचार स्रोत केन्द्रमा हुँदा पहिलोपटक मैथिली पत्रकारिताको तालिमा शुरु गरेको जानकारी दिएका छन ।
कोषका अध्यक्ष जीबनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा बक्ताहरुले मैथिली पुस्तक प्रकाशनमा जोड दिएका छन ।
अध्यक्ष चौधरीले कथा गोष्ठीमा पाठ गरिएको प्रतिनिधि मूलक कथालाई प्रकाशित गर्ने जानकारी दिएका छन ।
समारोहमा मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडि़, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष मनिका झा, पुनम झा मैथिली, विद्यार्थीहरु सुभाष यादव, आदित्य राउत, सोविन्द्रकुमार चौधरी लगायतका बक्ताहरुले बोलेका थिए ।
समारोहमा नविनकुमार मिश्र र विन्दू ठाकुर गीत गाएका थिए ।