मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर नेपाल निरङ्कुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिक र संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा सङ्क्रमण हुँदै थियो भने सोभियत सङ्घ र पूर्वी युरोपमा ‘समाजवाद’को पतन भइरहेको थियो । यसर्थ दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्थामा थियो । कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा धकेलिएको थियो ।
मुलुकभित्रको त्रि–शक्ति सन्तुलनको एउटा पक्षको हैसियतमा नेपाली कम्युनिस्ट आन्दोलनले लिने दिशा तरबारको धारमा हिँड्नु जत्तिकै जोखिमपूर्ण थियो । मुलुकमा स्थापित पुँजीवादी प्रजातन्त्रको यस स्वरूपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्य दिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्त्वको काम थियो । यो सङ्गीन घडी थियो र यहाँ दुइटा उत्ताउला काम हुन सक्थे । मार्क्सवादी साहित्यमा भनिने गरिएका दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव ।