सुजीतकुमार झा
जनकपुरधाम, ९ फागुन ।
जनकपुरधामको ऐतिहासिक दूधमती नदी र सोती नदीको संगममा धार्मिक मेला लागेको छ । माघ सप्तमीको अवसरमा लाग्ने सो मेलामा हजारो व्यक्तिले स्नान गरेका छन ।
त्रेताकालिन ईतिहास रहेको सो नदीमा नुहाउदा मनोबाँछित फल प्राप्त हुने जनविश्वास रहेको छ । दूधमती सोती संगम समाज नेपालका अध्यक्ष कलाधर झाले वर्षोदेखि यो मेला लाग्दै आएको वताए । उनले यो मेलालाई ७६ बर्षदेखि आफै हेरीरहेको र पूर्वजहरुले पनि भनेको वताए ।
दूधमती नदी धनुषा र महोत्तरी जिल्ला भएर बग्छ । माता सीतालाई दूध खुवाउन कामधेनु गाई आएकी थिइन् । माता कामधेनुले आफ्नो स्तनबाट दूधको धारा बहाएपछि यो नदी बनेको धार्मिक मान्यता रहेको छ । यसैगरी सोती नदी जनकपुरधामको रुपैठाभन्दा पश्चिम, बसहियादेखि पूर्वमा रहेको सो नदीमा जनक र सुनयनाद्वारा विवाहमण्डप आरोहणपूर्व रामजानकीको पाद प्रक्षालन गरिएको थियो त्यसैबाट निमार्ण भएको वताइन्छ । दूधमती सोती संगम समाज नेपालका उपाध्यक्ष सुरेन्द्रप्रसाद ठाकुरले दूबै नदीको ऐतिहासिक महत्व रहेकाले पनि नुहाउन आउनेहरुको अन्य बेलापनि भीड हुने गरेको छ ।
पर्यटकहरुको यो स्थल केन्द्र बनेको छ । दूधमती नदीको पानी केही वर्ष अगाडी सम्म दूधजस्तै बग्ने गथ्र्यो । तर नदीमै नाला र फोहोर मैला हरु फालिएपछि यो नदी संरक्षणको पर्खाईमा रहेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवामा उदगम स्थल रहेको दूधमती नदीको धारा जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म प्रवाहित हुन्छ । कुल ४६ किलोमिटर लम्बाइको दूधमती नदी मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदीहरु मध्ये एक हो । यो नदीलाई हिन्दूधर्मावलम्बीहरुले पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्वपूर्णस्थलका रूपमा लिइने गरिन्छ ।
संरक्षण अभाव तथा जग्गा अतिक्रमणको चपेटमा परेपछि पहिचानका लागि संघर्ष गर्दैछ दूधमती र सोती । डम्पिङ साइटको रुपमा प्रयोग र व्यक्तिगत नाममा जग्गा दर्ता गराएर सम्याउने भू–माफियाको गतिविधिले दूधमतीको अस्तित्वनै अहिले संकटमा परेको देखिन्छ । जनकपुरधाममा डम्पिङ साइट नभएपछि नगरक्षेत्रसँगै आसपासका गाउँबाट समेत निस्केको फोहोर तथा सेफ्टी टयाङ्क विसर्जनका कारण नदी प्रदुषित मात्र भएको छैन, थुनिन पनि पुगेको छ ।
संरक्षण अभावमा नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै गएको छ भने सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै गएको छ । तर वर्षमा लाग्ने मेलाले फेरी यो दूबै नदीको चर्चा हुने गरेको छ । अहिले मुरही कचरी, जिलेवी, फलफूल आदी मेलामा बिक्री हुने गरेको छ । मेलामा रामनाम संकिर्तन, भजन लगायत भइरहेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update