-नवल खड्का
खुला सिमानामा काँडेतार अभियान करिब एक दशक भइसकेको छ । यस अभियानलाई सुरुमा अव्यावहारिक र अनावश्यक भन्नेहरुसमेत अब सिमानामा काँडेतार लगाउनुपर्नेमा सहमत हुन थाल्नु भएको छ ।
भारतको गिद्धे दृष्टि
नेपाल–भारतबीचको खुला सिमाना मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताका लागि सधैँ खतरा रहिरहेको छ भने सीमा क्षेत्रका नेपालीका लागि त्रासमय हुने गरेको छ । यो वर्तमानदेखिको मात्र होइन, ब्रिटिसकालीन भारतकै ऐतिहासिकतामा आधारित छ । सतलजदेखि टिष्टासम्म फैलिएको हाम्रो भूमि मेची र कालीमा सीमित हुँदा पनि नेपालले इतिहासको नियतिलाई स्वीकार गर्दै आएको छ । तथापि भारतीय हेपाह र हस्तक्षेपकारी कदमले मेचीदेखि कालीसम्म खुम्चिएको भूमिमा पनि भारतले ७१ स्थानमा ६० हजार ६६२ हेक्टर जमिन सीमा अतिक्रमणको चपेटामा पारिसकेको छ ।
देशको सिमाना भनेको राष्ट्रको संवेदनशील र महत्त्वपूर्ण विषय हो । सिमानाले जमिनको सतह अङ्कित आयतनलाई जनाउने मात्र होइन, राष्ट्रको स्वतन्त्रता, भौगलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय एकता र स्वाभिमानलाई पनि जनाउँछ । तर हाम्रो बिडम्बना विगतदेखिका सरकारले यस मर्मलाई आत्मसात् नगर्दा समस्या झन्झन् बल्झँदै आयो ।
भारतले सीमा मात्र मिच्दै गरेन, सीमा क्षेत्रका नेपालीहरूलाई सधैँ एसएसबीको त्रास र ज्यादती खेप्न बाध्य बनाइरहेको छ । भारतीयले एकतर्फी बाँधेको बाँधका कारण र वर्षायाममा कोसीका ढोका भारतले नखोलिदिँदा बर्षेनि क्षति भएका जनधनको हिसाबको लेखाजोखा गरी साध्य छैन । त्यसमाथि नेपाल सरकारको भारतीय सरकारसँगको कायरताका कथाहरु बेग्लै छन् । बाढीले जमिन र गरिबका छाप्रा डुब्दा कोसीको ढोका खोलिदिऊँ भनी अनुरोध गर्दासमेत, सरकार बाँधका ढोका खोल्न नसक्ने अवस्थामा छ ।
सीमा क्षेत्रका नेपालीको धनजनको सुरक्षा गर्नु नेपालको सरकारको हो । तर सीमा क्षेत्रमा कार्यरत नेपालको सुरक्षा निकाय तस्करीका लागि एक सहजकर्ता मात्र हुने गरेका छन् । यताका माल उता र उताका माल यता गर्नका लागि सीमा तस्करका सहयोगी भएका अनेकन दृष्टान्त पाइन्छन् । यसैकारण भारतीय पक्षका स्थानीय गुण्डाहरु र तिनीहरुका पक्षमा लागेका एसएसबी जवानहरुबाट खेती नष्ट गरिदिने, घरटहरा भत्काइदिने, पक्राउ तथा दुव्र्यवहारजस्ता गतिविधिहरु सीमा क्षेत्रका जनताका लागि सामान्य घटनाहरु भएका छन् ।