Home / समाचार / टोलदेखि केन्द्रसम्म कांग्रेसको आठ कार्यसमिति

टोलदेखि केन्द्रसम्म कांग्रेसको आठ कार्यसमिति

दूधमती समाचारदाता
काठमाडौ, पुस ११ ।

 मुलुकको नयाँ संरचनाअनुसारको पार्टी विधान बनाएको नेपाली कांग्रेसले टोलदेखि केन्द्रीय तहसम्म गरी आठ तहमा आठवटा कार्यसमिति बनाउने भएको छ ।आइतबार मात्रै महासमिति बैठकबाट पारित विधानअनुसार टोलदेखि केन्द्रीय तहसम्म गरी आठ तहमा आठवटा कार्यसमिति हुने भएको हो ।

नेता रमेश लेखकले टोलबाट केन्द्रसम्म गरी अब पार्टीको आठ तहमा आठवटा कार्यसमिति हुने जानकारी दिए ।
‘सबैभन्दा तल्लो तहमा टोल कार्यसमिति र सबैभन्दा माथिल्लो तहमा केन्द्रीय समिति गरी आठ तहमा आठवटै कार्यसमिति हुनेगरी विधानमा व्यवस्था गरिएको छ,’ नेता लेखकले राजधानीसँग भने ।जसअनुसार कांग्रेसको सबैभन्दा तल्लो तहमा टोल कार्यसमिति हुँदै वडा कार्यसमिति, गाउँ÷नगर, उप र महानगरसमिति, प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समिति गरी आठ तहमा आठवटा कार्यसमिति हुने भएको हो ।
नयाँ संरचनाअनुसार सबैभन्दा तल्लो तहमा टोल कार्यसमिति ११ सदस्यीय हुनेछ । यस्तै, वडा कार्यसमिति २५ देखि ४० जनासम्मको हुनेछ । महानगर, उपमहानगर, नगर र गाउँपालिकामा आठ सदस्यीय पदाधिकारीसहितको कार्यसमिति हुनेछ भने प्रदेशस्तरीय क्षेत्रीय समितिमा समेत आठ जना पदाधिकारी रहनेछन् ।
महानगरको वडामा ४४ जना, उपमहानगरको वडामा ३८ जना, नगरको वडामा ३२ जना र गाउँपालिकाको वडामा २५ जनाको कार्यसमिति रहनेछ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्रीय समिति र जिल्ला समितिमा पनि आठ–आठ जना नै पदाधिकारी रहनेछन् भने प्रदेश समितिमा नौ जना पदाधिकारी रहनेछन् । केन्द्रीय समितिमा १३ निर्वाचित पदाधिकारीसहित कुल १६७ जनाको कार्यसमिति हुनेछ । केन्द्रमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै सभापतिले मनोनीत गर्नेछन् ।
केन्द्रमा १४ पदाधिकारीमध्ये एक जना सभापति, दुई–दुई जना उपसभापति र महामन्त्री तथा आठ सहमहामन्त्री निर्वाचनमार्फत चुनिनेछन् । सबै सहमहामन्त्री संविधानले व्यवस्था गरेको समावेशी क्लस्टरका आधारमा निर्वाचित हुनेछन् । सभापतिले कुल सदस्यको २० प्रतिशत मनोनीत गर्न पाउने विधानमा व्यवस्था गरिएको छ । संशोधनअघिको विधानमा भने कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय थियो ।

संशोधित विधानअनुसार कांग्रेसमा निर्वाचित पदाधिकारी १३ जना, समावेशी सिद्धान्तका आधारमा ५४ जना केन्द्रीय सदस्य, ३५ जना खुला र महिलाबाट नौ जना, सभापतिले मनोनीत गर्ने ३३ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाका दरले २१ जना तथा पेसाकर्मी र विपन्न गरेर एक–एक जनाका दरले दुई जना गरी १६७ जनाको केन्द्रीय समिति विधानमा तोकिएको छ ।
प्रदेशमा कुल प्रतिनिधि संख्याको एक तिहाइ, हरेक जिल्लाबाट एक महिला र एक पुरुषसहित समावेशी प्रतिनिधित्व हुनेछ । अपांगता र अल्पसंख्यक समुदायको प्रतिनिधित्व पनि रहनेछ । सभापतिले प्रदेश कार्यसमितिको कुल संख्याको २० प्रतिशत मनोनीत गर्न सक्नेछन् ।

यस्तै, आठ सदस्यीय जिल्ला समितिमा पनि कोषाध्यक्षबाहेक सबै जना निर्वाचित हुनेछन् । जिल्ला कार्यसमितिमा हरेक स्थानीय तहबाट सदस्य निर्वाचित भएर आउने र क्षेत्रीय समितिको पनि प्रतिनिधित्व हुने व्यवस्थासमेत भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिमा प्रदेशसभाका क्षेत्रीय सभापतिहरू स्वतः उपसभापति हुनेछन् । त्यस्तै, प्रदेशसभा क्षेत्रबाट निर्वाचित एक महिलासहित तीन–तीन जनासमेत प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिमा हुनेछन् भने एक महिलासहित चार जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।

प्रदेशसभा निर्वाचन समितिमा आफ्नो मातहतका सबै स्थानीय तहका प्रमुख पदेन सदस्य हुने व्यवस्था छ । सो समितिमा आवश्यकतानुसार वडा र टोल कार्यसमितिका सभापतिलाई समेत राख्न सक्ने व्यवस्था गरिएको छ ।
नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिमा सम्बन्धित स्थानीय तहमा रहेका जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

About Sujeet Jha

Check Also

जनकपुरधामको ऐतिहासिक दूधमती नदीमा नुहाउनेहरुको विहानैदेखि भीड

सुजीतकुमार झा जनकपुरधाम, बैशाख ३० । जनकपुरधामको ऐतिहासिक दूधमती नदीमा नुहाउनेहरुको आज विहानैदेखि भीड लागेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com