Home / समाचार / जनकपुरधामका ९ नायकको चर्चा

जनकपुरधामका ९ नायकको चर्चा

दूधमती समाचारदाता
जनकपुरधाम, अखार १ ।
सामाजिक क्षेत्रका साथै अन्य विधामा क्रान्ति ल्याउने ९ नायकको कामको चर्चा अहिले जनकपुरधाममा भईरहेको छ । जीवनको अधिकांश समय समाजसेवाका साथै आफ्नो पेशालाई उचाई प्रदान गर्नमै यी व्यक्तिहरु लगाएको देखिन्छ । दूधमतीले विभिन्न व्यक्तिसंग गरेको कुराकानीको क्रममा ९ जना व्यक्तिको कामको अग्रभागमा मूल्यांकन स्थानीयवासीहरुले गरेका छन् ।
स्वर्गद्वारी श्मसान घाटका संयोजक पवन सिंघानिया, गंगासागरमा सफाई गरी गंगा आरती शुरु गरेका प्रदेशसभा सदस्य रामअशिष यादव, गरिबलाई उपचार गराउनेदेखि घर बनाउने, बिहे गराउने, विद्यालय पठाउनेसम्मको कार्यमा संलग्न वैद्यनाथ साह, वृक्षारोपणमा क्रान्ति ल्याएका सुरेश शर्मा, पोलिथिन मुक्त अभियानका अभियानी कृष्णचन्द्र साह, गरिब तथा दुखीलाई कपडा उपलब्ध गराउने क्लोथ बैंकका संयोजक राजीव झा, अनाथ बालबालिकालाई संरक्षण गर्दै आएका सत्यनारायण आलोक, योगको माध्यमले समाजलाई नै स्वस्थ बनाउने अभियानमा लागेका मनोहर साह र मिथिला चित्रकलालाई व्यवसायिकता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेका विजय दत्त मणिको चर्चा निक्कै भईरहेको छ ।
नायकको जहाँसम्म कुरो छ हरेक व्यक्ति आफैमा नायक हुन्छन् । हामीले छुट्याएको या छनौट गरेका व्यक्तिको महत्व छैन भन्न सकिदैन । दर्जनौ व्यक्ति विभिन्न क्षेत्रमा निक्कै काम गरिरहेका छन् । धेरैको चर्चा समेत हुँदैन तर निरन्तर कामलाई महत्व दिई रह्नु भएको छ । उदाहरणको रुपमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल आफ्नो कार्यालय व्यवस्थापनका अतिरिक्त अन्य सामाजिक कार्यहरुमा समेत निक्कै सक्रियता देखाउँदै आईरहेका छन् । क्लोथ बैंकको स्थापनामा उनको महत्वपूर्ण योगदान रहेको छ । मैथिली विकास कोषका संयोजक जीवनाथ चौधरी जनकपुरधाममा अन्तर्राष्ट्रिय नाटक महोत्सव सफलता पूर्वक सम्पन्न गराउनु भएको छ । महावीर युवा कमिटीका पूर्व अध्यक्ष धर्मेन्द्र साह राजदेवी मन्दिर सौन्दर्यीकरणमा अगुवाई नै गरेका थिए । समाजसेवी अमरचन्द्र अनिल दिनभरी सामाजिक कार्यमा सक्रिय रह्नु हुन्छ । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र महासंघ सुविधा सम्पन्न भवन आफ्नो कार्यकालमै सम्पन्न गर्न सफल हुनु भएको छ । यसका अतिरिक्त पनि जनकपुरधाममा धेरै छन् जसले आफ्नो अधिकांश समय समाजसेवाका साथै अन्य विशिष्ट कार्यहरुमा लगाउँदै आएका छन् ।
पवन सिंघानियाः ५८ वर्षीय सिंघानिया पुस्तैनी सुनचाँदी व्यवसायीको परिवारमा जन्मे। तीन दाजुभाइमध्ये जेठा र कान्छा दुवै अहिले पनि व्यापारमै संलग्न छन्। ८२ वर्षीय बाबु हरद्वारीलाल सिंघानिया र ८० वर्षीया आमा जगदम्बादेवीका माइला छोरा पवनले भने योगीको पहिचान बनाएर अलग्गै जीवनशैली अपनाए ।

१७ वर्षअघिसम्म उनी पनि सामुदायिक तथा जातीय पहिचानकै दायराभित्र थिए । कुनै समय आफ्नो समुदायमा एकजनाको निधन हुँदा बिरामी बुवाको प्रतिनिधित्व गर्दै पवनले नै मलामी जानुपर्ने जिम्मेवारी थमाइयो। उनी मलामी गए, जनकपुरस्थित गंगासागरको डिलमा । श्मसान घाट फोहोर देखेपछि उनको मन आएको परिवर्तनले सिंघानियालाई स्वर्गद्वारी श्मसान घाट निर्माण गर्ने ध्येय जाग्यो । अहिले सोही श्मसान घाट स्थानीयवासीका साथै बाहिरबाट आउने पर्यटकहरुका लागि रमणीय स्थल बन्न पुगेको छ ।
रामअशिष यादवः प्रदेशसभा सदस्य रामअशिष यादव पहिले पेशाले पत्रकार थिए । दिनभरी रिपोर्टिंगमा उनलाई कुद्नु पथ्र्यो । यही व्यस्तताका बिच जनकपुरधामको प्रसिद्ध तलाउ गंगासागरको दुरावस्था देखेर सफाई अभियान थाल्नु भयो । अहिले गंगासागर सफाई हुनुका साथै पुजनीय स्थल बनेको छ । त्यहाँ दैनिक साँझ गंगा आरती हुने गर्छ ।

सेभ हिस्टोरिकल जनकपुरधामको माध्यमले ऐतिहासिक स्थलहरुको संरक्षण गर्नुका साथै वृक्षारोपण, सरसफाई अभियान दैनिक चलाई रहन्छन् । जनकपुरधाममा पोलिथिन मुक्त अभियान पनि उनकै पहलमा शुरु भएको छ । विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालय भर्ना गराउने अभियानमा समेत यादव सक्रिय छन् ।
वैद्यनाथ साहः समाजसेवी भन्दा आफूलाई सेवक भनेर चिनाउन रुचाउने वैद्यनाथ साह केही वर्ष भित्रै सामाजिक क्षेत्रमा छुट्टै स्थान बनाउन सफल भएका छन् ।

४८ वर्षिय साह असहाय संरक्षण मञ्चको माध्यमले गरिबलाई औषधोपचार, गरिबीका कारण बिहे नहुनेहरुलाई बिहे गराई दिने, घर नभएकालाई घर बनाई दिने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पठाउने अभियानमा लागेका छन् । जनकपुर अञ्चल अस्पताललाई नमूना अस्पताल बनाउन उहाँ अभियान नै शुरु गर्नु भएको छ । उहाँको प्रयासका कारण अस्पतालमा निक्कै सुधार भएको देखिएको छ ।

सुरेश शर्माः आफ्नै हातले वर्षमा दूई हजारभन्दा बढी वृक्षारोपण गर्ने कर्मचारीको आजभोली जनकपुरधाममा निक्कै चर्चा रहेको छ । प्रदेश २ को वन मन्त्रालय अन्तर्गत प्रदेश निर्देशनालयमा अधिकृत रहेका सुरेश शर्मा २०६६ सालदेखि निरन्तर प्रत्येक वर्ष आफ्नै हातले दूई–दूई हजारभन्दा बढी वृक्षारोपण गर्नु भएको छ । कार्यालयको समय बाहेक वृक्षारोपण नै उहाँको दिनचर्या बनेको छ ।


कहिले त्यो गाउँमा, कहिले त्यो वडामा वृक्षारोपण अभियान संचालन गर्दै आउनु भएको छ । वृक्षारोपण अभियानमा प्रदेश २का सांसद रामअशिष यादव, समाजसेवी अमरचन्द्र अनिल, जिल्ला वन कार्यालय धनुषाका कर्मचारी वैद्यनाथ सिंह लगायतका एउटा टिम नै रहेको छ । प्रत्येक दिन वृक्षारोपणको स्थान खोजी गर्ने र खोजी गरिएको स्थानमा वृक्षारोपण गर्ने दैनिक दिनचर्या नै बनेको छ ।
वनका कर्मचारी भएका कारणले पनि वृक्षारोपण अभियान अगाडी बढाउन सहज भएको शर्माले बताए । २०६६ सालमा जनकपुरको दूधमती नदी नजिक रहेको श्मसान घाट र कबर्ड हल नजिक रहेको कब्रिस्तानबाट वृक्षारोपण अभियान आरम्भ गर्नु भएका शर्माको नेतृत्वमा धनुषा जिल्लामा १० वर्षमा १ लाख जति वृक्षारोपण गरि सकिएको छ ।
कृष्णचन्द्र साहः जनकपुरधाममा पोलिथिनमुक्त अभियानका प्रमुख योद्धाका रुपमा आफूलाई कृष्णचन्द्र साहले स्थापित गराउन सफल भएका छन् । अहिलेसम्म १० हजारभन्दा बढी कपडाको झोला निःशुल्क उहाँले वितरण गरि सकेका छन् । कहिले तरकारी बजारमा त कहिले पसलहरुमा घुमेर पोलिथिनमुक्त अभियान चलाई रहेका हुन्छन् ।

विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई पोलिथिनको दुश्प्रभावको सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी गराएर घर परिवारलाई पोलिथिन मुक्त गर्न अभियान चलाउँछन् । जनकपुरधाममा सरसफाई, वृक्षारोपण अभियानमा पनि उहाँ सक्रिय रह्नु भएको छ ।
राजीव झाः राष्ट्रिय जनता पार्टीका महासचिव रहेका राजीव झा क्लोथ बैंकको माध्यमले जो संग कपडा छ उ संग कपडा सहयोगमा लिने र जो संग छैन उसलाई कपडा दान गर्ने अभियान चलाउनु भएको छ ।

केही महिना भित्रै यो अभियान निक्कै लोकप्रिय भएको छ । जाडोको समयमा सडकपेटीमा सुतिरहेका व्यक्तिलाई कम्बल ओढाएर पनि निक्कै समाजसेवा गर्नु भएको छ । सामाजिक अन्य कार्यहरुमा पनि उहाँ सक्रिय रह्नु हुन्छ । वृक्षारोपण, सरसफाई लगायतका अभियान चलाउँदै आएका छन् । दुर्वासा ऋषि आश्रमको संरक्षणमा समेत उहाँ सक्रिय छन् ।
सत्यनारायण आलोकः अनाथ बालबालिकाका लागि भगवान जस्तै बनेका आलोकको योगदानको बारेमा जति लेखे पनि कमै हुन्छ । जो आफ्नै बालबालिकालाई जीवन मृत्युको दोसाधमा छोडेर फाल्छन् उसलाई आफ्नो आश्रममा राखेर राम्रो लालन पालनको वातावरण बनाउँछन् ।

अहिले आश्रमलाई सुविधा सम्पन्न बनाउन पनि सक्रिय रह्नु भएको छ । दर्जनो व्यक्तिले उहाँको अभियानलाई सहयोग गरिरहेका छन् ।
मनोहर साहः योग गुरुको नाउँमा जनकपुरधाम क्षेत्रमा प्रसिद्ध मनोहर गुरु योग साधनाको माध्यमले जनकपुरधामको स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय रहेका छन् । उहाँले निःशुल्क रुपमा योग सिकाउनुका साथै निःशुल्क आयुर्वेदिक उपचार समेत गर्नु हुन्छ ।

जहिले पनि साकारात्मक कुरा गर्ने मनोहर गुरु जानकी नगरमा योग साधनाको केन्द्र बनाउने अभियानमा लागेका छन् । दर्जनौ पटक सरसफाईमा समेत संलग्न हुनु भएका साहको अभियानको निक्कै प्रशंसा भईरहेको छ ।
विजयदत्त मणिः शिक्षक, कवि, लेखकका अतिरिक्त एउटा चर्चित मिथिला चित्रकार पनि हुनु हुन्छ । उहाँले एक दुई वर्ष भित्रै मिथिला चित्रकलाको क्षेत्रमा क्रान्ति ल्याएका छन् ।

रामनन्द द्वारमा उहाँले नै चित्रकला बनाउनु भएको छ । मारवाडी सेवा समितिको पर्खालमा पनि उहाँले बनाएको चित्रकलाको निक्कै चर्चा भईरहेको छ । एकातिर पर्खालहरुमा चित्रकला बनाउने अर्कोतर्फ पाग बनाउने, पागलाई जनकपुरधामको कोशेलीको रुपमा स्थापित गराउने अभियानमा उहाँ लाग्नु भएको छ ।

About Sujeet Jha

Check Also

राष्ट्रपति विद्या देवी भण्डारीद्वारा जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा अर्चना

सुजीतकुमार झा जनकपुरधाम राष्ट्रपति विद्या देवी भण्डारीले जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com